कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको नागरिकता जारी गर्ने र प्रतिलिपी दिने तत्कालीन दुई कर्मचारी पनि अनुसन्धानमा तानिने भएका छन् ।
सिरोहियाको नागरिकता सम्बन्धी थप अनुसन्धानका लागि प्रहरीले दुई जनालाई पक्राउ गर्ने अनुमति लिएको छ । वंशजको नागरिकता दिने तत्कालीन प्रमुख जिल्ला अधिकारी शरदकुमार भट्टराई र प्रतिलिपि दिने तत्कालीन शाखा अधिकृत काशिराज दाहालविरुद्ध प्रहरीले जिल्ला अदालत धनुषाबाट पक्राउ पूर्जी लिएको हो ।
०३४ सालमा सिरोहियाले जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएका थिए । उनका बुवा स्व. घासीराम मारवाडीको नागरिकता अंकिकृत थियो । तर सिरोहियालाई वंशजको नागरिकता जारी गरिएको अनुसन्धानबाट खुलेको छ ।
सिरोहियाको वंशज नागरिकता तत्कालिन प्रमुख जिल्ला अधिकारी शरदकुमार भट्टराईले जारी गरेका थिए । उनको पहिलो प्रतिलिपी भने तत्कालीन शाखा अधिकृत काशिराज दाहालले दिएका हुन् । उनी दुबै जनालाई हिरासतमा लिएर अनुसन्धान गर्न अदालतबाट पक्राउ पूर्जी जारी भएको प्रहरीले जनाएको छ ।
सिरोहिया हिरासतमा रहेका बेला अनुसन्धानका लागि प्रतिलिपी जारी गरेका तत्कालीन शाखा अधिकृत दाहाललाई पनि धनुषा प्रहरीले बोलाएका थिए ।
नागरिकता किर्ते सम्बन्धी कसुरमा पक्राउ परेका सिरोहिया ९ दिनपछि हिरासतमुक्त भइसकेका छन् ।