NRN
नेपाल प्रहरी र सशस्त्र प्रहरीको उमेरहदबारे अध्ययन गर्न कार्यदल गठन

नेपाल प्रहरी र सशस्त्र प्रहरीको उमेरहदबारे अध्ययन गर्न कार्यदल गठन गरिएको छ । गृहमन्त्री रवि लामिछानेले मन्त्रालयका सहसचिव एवम् कर्मचारी महाशाखाका प्रमुख झक्कप्रसाद आचार्यको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन गरेका हुन् ।

कार्यदलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका एक जना डीआईजी, अर्थ मन्त्रालयका उपसचिव, गृह मन्त्रालयको कानुन उपसचिव, मन्त्रालयले तोकेको सुरक्षा विज्ञ र गृहका उपसचिव एवं प्रहरी कर्मचारी प्रशासन शाखा प्रमुख कृष्ण गैरे सदस्य सचिव रहने छन् ।

समितिलाई मौजुदा ऐन, नियमहरूको अध्ययन गरी अन्य मुलुकका अभ्यासहरू समेतको आधारमा एक महिनाभित्र सुझावसहितको प्रतिवेदन पेश गर्ने कार्यादेश दिइएको छ ।

यो कार्यदलले एकमहिनाभित्र सुझावसहितको प्रतिवेदन सरकारलाई बुझाउनेछ । अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू ५८ वर्षमा अनिवार्य अवकाशमा जाने प्रावधान छ । अहिलेका सुरक्षा प्रमुखहरूले ६० वर्ष पुर्‍याउन मातहतका निकायमा पहल गर्दै आइरहेका छन् ।

आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यमा सुरक्षाकर्मीहरुको अवकाशको उमेर हदलाई पुनरावलोकन गर्ने उल्लेख छ । बजेटमा भएको सोही व्यवस्था अनुसार गृह मन्त्रालयले अध्ययन कार्यदल गठन गरेको हो ।

प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  १३:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update