- राजन घिमिरे
करूणा रावत यतिबेला अष्ट्रेलियाबाट नेपाल फर्किएकी छन् । लामो समयदेखी अष्ट्रेलियाको सिडनी बस्दै आएकी करूणा मिस नेपाल २०२४ को ताज पहिरिने उद्देश्य सहित नेपाल फर्किएकी हुन् । बिभिन्न चरणहरु पार गर्दै उनि उत्कृष्ट २६ भित्र त परि सकिन । अब यही २६ जनाभित्रबाटै एक जनाले मिस नेपाल २०२४ को ताज पहिरिने अबसर पाउने छन् ।
करूणा भन्छिन् -‘ यहाँसम्म आइपुग्न धेरै मिहेनत गरेको छु । अबको यात्रा भनेको भाग्य र कार्यक्रमको अन्तिम दिनको प्रस्तुतिमा पनि भर पर्छ । त्यो दिनको लागि पनि म कडा मिहेनतका साथ प्रस्तुत हुने तयारीमा छु -‘ ।
अष्ट्रेलिया बसाईको क्रममा पनि करुणा रावतले नेपाली समाजले आयोजना गर्ने बिबिध कार्यक्रममा आफ्नो शानदार उपस्थिति जनाउँदै आइरहेकी छिन् । तनहुँको दमौलीमा जन्मिएकी २४ वर्षिया करुणा १५ वर्षको उमेरदेखी नै मोडलिङमा प्रवेश गरेकी थिइन् । दमौलीस्थित कनकाई सेकेण्डरी स्कुलबाट अध्ययन सुरु गरेकी करुणा मिस एसएलसी पोखरा २०१४ की रनरअप समेत हुन् ।
उनि १७ वर्षको उमेरमा अष्ट्रेलिया पुगेकी हुन् । रावतले अष्ट्रेलियामा आयोजना भएका नेपथ्यदेखि होली मेला लगाएतका कार्यक्रमहरूको सन्चालन गरेर आफ्नो प्रतिभा र दक्षता प्रस्तुति गरिसकेकी छिन् ।अष्ट्रेलियामा पनि उनले मोडलिङ क्षेत्रलाई निरन्तरता दिंदै आएकी छिन् । करुणा अष्ट्रेलियामा विगत ३ वर्षदेखि नर्सिङ पेशामा कार्यरत छिन् । निकै जुझारू, मिहेनती र हरेक क्षेत्र अनि बिधामा सक्रिय करूणा रावतको सफलताप्रति यतिबेला अष्ट्रेलियामा रहनु हुने नेपालीहरूले ठूलो आशा राखेका कुरा अष्ट्रेलियाका ब्याबसायी सफल कार्कीले बताए -‘ अष्ट्रेलियामा रहेका नेपालीहरूको प्रतिनिधित्व गरेकी करूणा हामी सबैको गौरब हुन् -‘ कार्कीले भने ।
करूणाले मिस वर्ल्ड अस्ट्रेलियाको फाइनलमा पनि रकी गादरकोल मोडलको रूपमा वाक प्रदर्शन गरेकी थिइन भने मिस ग्ल्यामर लुक अष्ट्रेलिया २०१९ को टप ५ मा समेत उनी छनोट भएकी थिइन् । यस्तै सामाजिक कामहरूमा सक्रिय रावतले मानसिक स्वास्थ्य, लागूपदार्थ र मदिरा दुर्व्यसनी रोक्नका लागि समेत काम गर्दै आएकी छन् ।
बाल्यकालदेखीको सपना पुरा गर्न नेपाल फर्किएकी करूणाले भनेकी छिन् -‘ म अहिले पनि स्वास्थ्य क्षेत्रमा आबद्द छु र भविष्यमा पनि स्वास्थ्य क्षेत्रमा योगदान गर्ने र महिला शसक्तिकरणमा महत्वपुर्ण भूमिका खेल्दै अगाडि बढ्ने छु -‘ करूणाले प्रतिबद्दता ब्यक्त गरेकी छन् ।