NRN
बजेटमाथिको छलफलमा अर्थमन्त्री उपस्थित हुनुपर्ने अडान राखेपछि बैठक स्थगित

राप्रपाका सांसद राजेन्द्र लिङ्देनले बजेटमाथिको छलफलमा अर्थमन्त्री संसद् बैठकमा नभएको भन्दै अर्थमन्त्री उपस्थित हुनुपर्ने अडान राखेपछि बैठक स्थगित भएको छ ।

बजेट सम्बन्धि छलफलमा अर्थमन्त्री अनिवार्य उपस्थित हुनुपर्ने व्यवस्था रहेको बताउँदै राप्रपा अध्यक्ष लिङदेन सभामुखको ध्यानाकर्षण गराएका थिए । सभामुखले अर्थमन्त्री राष्ट्रिय सभा बैठकमा रहेकाले केहि समयमा आउने भन्दै १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।

अध्यक्ष लिङ्देनले प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री वर्षमान पुनलाई नदेखेको भन्दै उनले बोल्न नमानेका हुन् ।

‘कसले सुनिदिनुहुन्छ त मेरो कुरा ? उहाँलाई धन्यवाद दिन पनि .. के हुन्छ यस्तो बेला ?, मन्त्री त हुनुपर्‍यो होला कि उहाँको बदला कसैले सुन्नुपर्‍यो’, लिङ्देनले भने । त्यसपछि सभामुखको भूमिकामा रहेकी इन्दिरा रानाले अर्थमन्त्री राष्ट्रिय सभा बैठकमा जवाफ दिन जानुभएको र केही बेरपछि आउने भन्दै लिङ्देनलाई बोल्न आग्रह गरिन् ।

तर लिङ्देनले अर्थमन्त्री उपस्थित नभएसम्म नबोल्ने भन्दै उभिइरहे । त्यसपछि सभामुखले समय थप्न सकिने भने पनि लिङ्देन बोल्न चाहेनन् । त्यस क्रममा सभामुख र लिङ्देनबिच दोहोरी नै चल्यो । 

त्यसपछि सत्ता पक्षका सांसद दयालबहादुर शाहीले उठेर सभामुखसँग दोहोरी नखेल्न लिङ्देनलाई आग्रह गरे । त्यसपछि राप्रपाका ज्ञानेन्द्र शाहीले आफ्नो पार्टीको दलको नेताले अर्थमन्त्री खोज्नु दोहोरी हुन्छ भनेर प्रश्न गरे ।

त्यसपछि सभामुख देवराज घिमिरेले लिङ्देनलाई बस्न आग्रह गर्दै राष्ट्रिय सभा र प्रतिनिधि सभा एकैपटक भएकाले अर्थमन्त्रीले अर्को बैठकमा जवाफ दिइरहेकाले यस्तो अवस्था आएको जानकारी दिइन् । 

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  १४:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update