NRN
प्रतिनिधि सभाको आज र भोलिको बैठक सूचना टाँसेर स्थगित

प्रतिनिधि सभाको आज र भोलिको बैठक सूचना टाँसेर स्थगित गर्ने निर्णय भएको छ । आज बिहान सभामुख निवास बालुवाटारमा बसेको मुख्य दलका प्रमुख सचेतकसहितको बैठकले दुई दिन बैठक स्थगित गर्ने निर्णय गरेको हो । 

प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगित गर्ने निर्णयसँगै एक रुपैयाँ  बजेटको प्रस्तावमाथि छलफल सरेको छ । आजदेखि विनियोजन विधेयकमाथि छलफल गर्ने कार्यसूची थियो । बैठकमा अब २९ गतेदेखि नियमित छलफल हुने सहमति भएको बताइएको छ ।

विनियोजन विधेयक, २०८१ अन्तर्गत मन्त्रालयगत छलफलका लागि बजेट पुस्तिका अध्ययनका लागि दलहरूले समय मागेपछि सभामुखले दुई दिन बैठक सार्ने निर्णय गरेका हुन् ।

बैठकमा सभामुख देवराज घिमिरे सहित उपसभामुख इन्दिरा राना, नेपाली कांग्रेसका सचेतक सुशीला थिङ, एमाले प्रमुख सचेतक महेश बर्तौला, माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाही सहभागी थिए ।

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  ११:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update