मोरङको रंगेली नगरपालिकाका नगरप्रहरीमाथि आक्रमण गर्ने समूहलाई छाड्न माग गर्दै विद्यार्थीको समूहले विराटनगरमा सरकारी गाडी जलाएका छन् भने नेपाल विद्युत प्राधिकरणका पाँच वटा गाडी पनि तोडफोड पनि गरेका छन् ।
विद्यार्थीको समूहले आइतबार बिहान प्रदेश योजना आयोगको को१झ ६४४ नम्बरको गाडी जलाएका हुन् ।
बिहीबार नेपाल विद्यार्थी संघको एउटा समूहले रंगेली नगरपालिकाका कार्यवाहक मेयर एवम् रंगेली-८ का वडाध्यक्ष ढकप्रसाद आचार्य र प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपानेमाथि दुर्व्यवहार गर्दै नगरप्रहरीमाथि हातपात गरेको थियो ।
प्रहरीले उक्त घटनामा संलग्न भएको आरोपमा ६ जना विद्यार्थीलाई पक्राउ गरेको थियो । उनीहरु सबै नेविसंघका हुन् ।
आइतबार बिहान प्रदर्शन गरेका विद्यार्थीले महेन्द्र मोरङ कलेज अगाडि गुडिरहेको प्रदेश योजना आयोगको गाडीमा ढुंगामुढा गरे, ड्राइभर गाडीबाट निस्किएपछि आगजनी गरे । आजगनीबाट गाडी पूर्ण रुपमा जलेको प्रहरीले जनाएको छ ।
कन्जनजंगा पार्टी प्यालेस अगाडि रोकेर राखेको प्राधिकरणको बा१ञ १८८७, को१ञ २४१९, प्रदेश १-००१ ञ २७०१, प्रदेश १-००१ ञ २७९०, ८१८० नम्बरको गाडी तोडफोड गरेका थिए ।