NRN
मोदीको शपथ ग्रहणमा सहभागी हुन प्रधानमन्त्री 'प्रचण्ड' भारतको नयाँ दिल्ली प्रस्थान

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् । प्रधानमन्त्री प्रचण्ड पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार दिउँसो नयाँदिल्ली प्रस्थान गरेका हुन् । 

आइतबार साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण कार्यक्रममा सहभागि हुन उनी त्यहाँ गएका  हुन् । प्रधानमन्त्री दाहालका साथमा उनकी छोरी गंगा दाहाल, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी कर्मचारी छन् ।

गत शुक्रबार भारतीय जनता पार्टी (भाजपा) का सांसद मोदी तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त भएका थिए । प्रधानमन्त्री मोदीको शपथग्रहण कार्यक्रममा छिमेकी मुलुकका सरकार प्रमुख र राष्ट्र प्रमुखलाई आमन्त्रण गरिएको छ ।

भारतीय जनता पार्टीका नेता मोदीले शपथ लिएपछि प्रधानमन्त्री दाहाल र उनीबीच आज साँझ नै भेटवार्ता गर्ने कार्यक्रम रहेको नयाँदिल्लीस्थित नेपालको राजदूतावासले जनाएको छ। प्रधानमन्त्री दाहाल भोलि स्वदेश फर्कने कार्यक्रम छ ।

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  १३:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update