NRN
गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदै

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदैछन् । यही जेठ १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेस प्रदेश सभा संसदीय दलका नेता पाण्डेले संवैधानिक व्यवस्थाअनुसार  विश्वासको मत लिन लागेका हुन् । 

दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ । 

संविधानको धारा १६८ (३) बमोजिम सबैभन्दा ठूलो दलको नेताका हैसियतमा मुख्यमन्त्री बनेका उनलाई विश्वासको मत हासिल गर्न ३१ प्रदेशसभा सदस्यको साथ चाहिन्छ ।  यद्यपि उनले बहुमत जुटाउन नसक्ने विपक्षीको दाबी छ ।

६० सदस्ययीय प्रदेशसभामा कांग्रेसका २७, नेकपा (एमाले) का २२, नेकपा (माओवादी केन्द्र) का सात (सभामुखबाहेक), राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र एक स्वतन्त्र प्रदेशसभा सदस्य छन् । 

पाण्डेसँग हाल कांग्रेसका २७ सांसद मात्र छन् । राप्रपा मत दिन सकारात्मक देखिएको छ । 

पाण्डेले विश्वासको मत दिन गण्डकी प्रदेशसभामा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले), प्रतिपक्षी माओवादी, राप्रपा, नेसपा र स्वतन्त्र सांसद राजीव गुरुङसँग आग्रह गरेका छन् । उनले आइतबार पत्र लेखेर मत दिन आग्रह गरेका हुन् । पाण्डेले बहुमत नपाए उपधारा (५) अनुसार सरकार बन्छ ।

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  ११:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update