NRN
‘श्रमाधान रोजगार मेला’ आज देखि बाग्मती प्रदेशको ललितपुर स्थित पाटन बहुमुखी क्याम्पसमा शुरु

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गरेको ‘श्रमाधान रोजगार मेला’ आज देखि बाग्मती प्रदेशको ललितपुर स्थित पाटन बहुमुखी क्याम्पसमा शुरु भएको छ ।

मेलाको उद्घाटन गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले मन्त्रालयले आयोजना गरेको श्रमाधान रोजगार मेला सुरुवात मात्रै भएको बताईन् । मेलाले रोजगारीको अवसर मात्रै हैन करिअर काउन्सिलको काम पनि गर्ने समेत उनले बताइन् । मेलाले उद्यमी बन्न चाहनेको लागि सहज प्रक्रियाको जानकारी पनि दिनेछ ।

 

त्यस्तै, मेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले मन्त्रालयले मेला आयोजनाका लागि ललितपुर नै छनौट गरेकोमा खुशी व्यक्त गरे । दैनिक १५०० को हाराहारीमा वैदेशिक रोजगारीमा गै रहेको अवस्थामा यस्तो खालको मेलाले थोरै भएपनि नेपाली युवालाई नेपाल भित्रै रोकी राख्न सक्यो भने त्यसलाई ठूलो उपलब्धी रुपमा लिन सकिने बताए ।

जेठ १७ गते देखि कोशी प्रदेशको विराटनगरबाट सुरु भएको रोजगार मेला बाग्मती प्रदेशको ललितपुरमा आज देखि शुरु भएको हो । मेला भोलिसम्म सञ्चालन हुनेछ । आन्तरिक रोजगारीलाई प्रवर्द्धन गर्ने तथा वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले आयोजित मेलामा रोजगारदाता कम्पनीहरू र रोजगारीको खोजीमा रहेका नेपाली जोडिन सक्ने मन्त्रालयले जनाएको छ । 

मेलाको संयोजन नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, होटल एशोसियसन नेपाल, नेपाल तालिम तथा रोजगार व्यवसायी, नेपाल घरेलु तथा साना उद्योग महासंघ गर्नेछन् । मेला बुधबारसम्म सञ्चालन हुनेछ । मेलामा ८० वटा नीजि तथा सरकारी क्षेत्रका स्टल रहेका छन् ।

प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  १६:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update