किसानलाई समयमा नै रासायनिक मल उपलब्ध गराउन राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारसँग माग गरेको छ ।
बिहीबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै पार्टीका प्रमुख सचेतक सन्तोष परिवारले किसानलाई समयमा नै रासायनिक मल उपलब्ध गराउन माग गरेका हुन् ।
सरकार मलको अभाव छैन भन्ने तर किसानले १० किलो भन्दा बढी मल नपाउने अवस्था रहेको बताए । उनले भक्तपुरका कृषि उब्जनी हुने मध्यपुर ठिमी र बोडे लगायतका किसानहरूले १० किलो भन्दा बढी मल नपाएको बताए ।
उनले मल अभाव छैन भने पनि बजारमा मल नपाएको भन्दै सरकारले तत्काल मल समयमा किसानलाई उपलब्ध गराउन माग गरे ।
उनले किसानहरुले कालोबजारीमार्फत मल किन्दा जति पनि पाइने अवस्था रहेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराए ।
उनले कृषि उत्पादन बढाउनको लागि समयमा नै किसानलाई मलको व्यवस्थापन गर्न आवश्यक रहेको बताए ।