NRN
चितवनमा कार र बस ठाेक्किएर बस त्रिशूली नदीमा, १२ जना यात्रु घाइते

चितवनको इच्छाकामना गाउँपालिका- ३ फिस्लिङ र मौवा खोला बीचमा कार र बस ठाेक्किएर बस त्रिशूली नदीमा खसेको छ । दुर्घटनामा १२ जना यात्रु घाइते भएका छन् ।

शुक्रबार बिहान नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको भे १ ख ४०६२ नम्बरको बस विपरीत दिशाबाट आइरहेको बागमती प्रदेश ०१–०२९ च ३७२० नम्बरको कारसँग ठोक्किएर त्रिशूलीको किनारमा खसेको थियो । बसमा ३५ जना र कारमा ५ जना यात्रु रहेका थिए ।

दुर्घटनामा १२ जना यात्रु घाइते भएकामध्ये कारमा सवार दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।गम्भीर घाइतेमध्ये  कार चालक पोखरा महानगरपालिका ५ घर भएका ३५ वर्षका समीर ओझा र कारमा सवार टोखा नगरपालिका ६, काठमाडौँका २२ वर्षका शेखर मिश्र रहेका छन् ।

उनीहरु दुबैजनाको भरतपुरको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको जनाइएको छ । भने, बाँकी १० जना घाइतेको भरतपुरकै विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

बस सडकबाट करिब ५० मिटर तल नदीमा पुगेको थियो । बस चालक कोहलपुर नगरपालिका १२ घर भएका ३५ वर्षका विकास मल्ललाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  ११:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update