NRN
अफगानिस्तानलाई हराउँदै वेस्ट इन्डिज समूह ‘सी’ विजेता

आईसीसी टी–२० विश्वकप क्रिकेटको मंगलबार खेलिएको खेलमा वेस्ट इन्डिजले अफगानिस्तानमाथि एक सय चार रनको जित हासिल गरेको छ । जितसँगै वेस्ट इन्डिज समूह ‘सी’ को विजेता बन्दै ‘सुपर–८’ चरणमा पुगेको छ ।

अफगानिस्तान भने समूह उप–विजेताका रूपमा ‘सुपर–८’ चरणमा प्रवेश गरेको छ । मंगलबार विहान सम्पन्न यो खेलसँगै नवौँ विश्वकपमा समूहगत चरणको खेल पनि सकिएको छ । ‘सुपर–८’ चरणमा पुग्ने आठवटै टोलीको टुंगो लागिसकेको छ । 

टस हारी पहिले ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर दुई सय १८ रन बनाएको थियो ।

वेस्ट इन्डिजविरुद्ध ठुलो विजयलक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको अफगानिस्तानले भने १६।२ ओभरमै अलआउट हुनुअघि एक सय १४ रनमात्र बनाउन सक्यो ।

पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजका लागि ब्याट्सम्यान निकोलस पुरनले ९८ रनको योगदान गरे । आक्रामक रूपमा प्रस्तुत भएका उनले केवल ५३ बलको सामना गरी आठ छक्का र ६ चौका पनि प्रहार गरेका थिए । 

ओपनर जोन्सन चाल्र्सले पनि टोलीको खातामा ४३ रन थपे । उनले केवल २७ बलको सामना गरी आठ चौका हिर्काए । कप्तान रोभमन पोवेलले पनि २६ रन बनाए । उनले १५ बलमा दुई छक्का र एक चौका प्रहार गरेका थिए ।

अर्का ब्याट्सम्यान साई होपले पनि २५ रन बटुले । उनले १७ बलमा दुई छक्का प्रहार गरे । अफगानिस्तानका बलर गुलबदिन नाइबले दुई तथा नवीन उल हक र अजमतुल्लाह ओमरजाईले एक–एक विकेट लिए ।

जवाफी ब्याटिङ गरेको अफगानिस्तानलाई लक्ष्यसम्म पुग्न नदिन क्यारेबियन टोलीका बलर ओबेड म्याकोयले तीन विकेट लिए । गुडाकेश मोटीले पनि दुई विकेट हात पारे । अकेल होसैनले पनि दुई विकेट लिएका थिए । अल्जारी जोसेफ र आन्द्रे रसेलले पनि एक–एक विकेट हात पारे । 

अफगानिस्तानका लागि ओपनर ईब्राहिम जदरानले सर्वाधिक ३८ रन बनाए । उनले २८ बलमा एक छक्का र पाँच चौका प्रहार गरे । अजमतुल्लाह ओमरजाईले २३ रन जोडे । करिम जनतले १४ र कप्तान रासिद खानले १८ रन बटुले ।

प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  ११:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update