विश्व बैंक समूहअन्तर्गत अन्तर्राष्ट्रिय विकास संघ (आइडा) – २१ को तेस्रो रिप्लेनिसमेन्ट बैठक आजबाट काठमाडौंमा सुरू भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार बिहान काठमाडौंको सोल्टी होटेलमा बैठकको उद्घाटन गरेका छन् ।
बैठकमा छलफल गर्न विश्व वैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोटसेनवर्ग लगायत ६१ देशका करिब २०० भन्दा बढी प्रतिनिधि नेपाल आएको विश्व बैंकले जनाएको छ ।
आइडा दाताहरू र विश्वका अति विपन्न राष्ट्रहरूबीचको साझेदारीको लागि खडा गरिएको निकाय हो ।आइडाको बैठक हरेक तीन वर्षमा हुने गरेको छ । यसपटक बैठकको प्रमुख एजेण्डा नेपालजस्ता विकासोन्मुख मुलुकको आर्थिक विकासमा कसरी थप सहयोग गर्ने भन्ने तय गरिएको छ ।
आउदो तीन वर्षको लागि आइडा देशलाई प्रदान गरिने सहुलियतपूर्ण ऋण तथा अनुदान सहायता तथा प्राथमिकता क्षेत्र, नीति ढाँचा र यसको लागि लागि आवश्यक वित्तीय स्रोतको प्रतिबद्धता व्यक्त गर्ने सम्बन्धमा दातृ पक्ष, सहायता प्राप्त गर्ने देशका प्रतिनिधि र विश्व बैकका उच्च पदस्थ पदाधिकारीहरू बीच छलफल चल्ने छ ।
बैठकले आइडाको स्रोत परिचालनसँग सम्बन्धित समग्र नीति तय गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताइएको छ । साथै कुन क्षेत्रमा बढी लगानी चाहिन्छ र स्रोतको व्यवस्थापनको विषयमा छलफल गरिने छ। लगानी बाँडफाँट र लगानी प्रतिवद्धताको विषयमा अहिले सार्वजनिक नहुने अर्थमन्त्रालयका प्रतिनिधिहरूको भनाइ छ ।
सन् १९६० मा स्थापना भएको आइडा विश्व बैंकको सहुलियतपूर्ण ऋण र अनुदानका अतिरिक्त आर्थिक विकासमा पछि परेका मुलुकहरूका लागि बहुपक्षीय सहायता प्रदान गर्ने निकाय हो ।
आइडाले न्यून र मध्यम आय भएका विश्वसका ७५ भन्दा बढी मुलुकहरूमा सहायता उपलब्ध गराउँदै आएको छ । आइडाले नेपालमा शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, कृषि, पूर्वाधारलगायतका क्षेत्रमा वित्तीय सहायता र विभिन्न संस्थागत सुधारका लागि काम गर्दै आएको छ ।