उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको मुद्दामा आज सुनुवाइ हुँदैछ । उक्त रिट न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारंगा सुवेदीको संयुक्त इजलासमा पेसी तोकिएको छ ।
सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नता देखिने गरी जाहेरी समेत परेको दाबी गर्दै अधिवक्ता अनुपम भट्टराईले रिट निवेदन दर्ता गराएका थिए । उक्त रिट यसअघि हेर्न नमिल्ने न्यायाधीशको पेशी पर्दै सरेको थियो।
विवाद सर्वोच्च पुग्नुको कारण महान्यायाधीवक्ता कार्यालयले लेखेको पत्र थियो । महान्यायाधीवक्ता कार्यालयले गृहमन्त्री लामिछानेलाई क्लिनचिट दिँदै कुनै पनि जिल्लामा अनुसन्धान,अभियोगपत्र र जाहेरी नभएको भनी पत्र लेखेपछि सो पत्र खारेज गर्नुपर्ने माग उठेको थियो । सोही माग बोकेर रिट निवेदन सर्वोच्च पुगेका थिए । सुरुमा उक्त रिट दरपिठ भएपनि पछि न्यायाधीश टेकनारायण ढुङ्गानाको इजलासले दर्ता गर्न आदेश गरेपछि पुन दर्ता भएको थियो ।
दर्ता भएपछि सर्वोच्चले पोखरामा दर्ता भएको जाहेरी देखि रुपन्देही जिल्ला अदालतमा रहेको अभियोग पत्रसम्म मगाउने आदेश गरेको छ ।
त्यस्तै, सर्वोच्चमा पोखराको सूर्य दर्शन र बुटवलको सुप्रिम सहकारी ठगी बारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले गरेको अध्ययन प्रतिवेदन पनि पेस भएको छ । यी प्रमाणहरूको आधारमा दुवै पक्षको बहस सुनेर सर्वोच्चले निर्णय दिनेछ ।