NRN
वेस्ट इन्डिजविरुद्ध जित दर्ता गर्दै दक्षिण अफ्रिका आईसीसी टी-२० विश्वकप २०२४ को सेमिफाइनलमा

आयोजक वेस्ट इन्डिजविरुद्ध जित दर्ता गर्दै दक्षिण अफ्रिका आईसीसी टी-२० विश्वकप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

‘सुपर–८’ चरणअन्तर्गत सोमबार बिहान भएको खेलमा ‘समूह–२’ को खेलमा वेस्ट इन्डिजलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा तीन विकेटले हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा पुगेको हो । उक्त समूहबाट यसअघि नै इंग्ल्यान्ड सेमिफाइनल प्रवेश गरिसकेको छ ।

टस हारी पहिले ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ३५ रन बनाएको थियो । दक्षिण अफ्रिका जवाफी ब्याटिङ गर्न ओर्लिएपछि नर्थ साउन्डमा वर्षा सुरु भएको थियो । 

वर्षाले लामो समय खेल अवरुद्ध भएपछि ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा १७ ओभरमा एक सय २३ रन बनाउनु पर्ने गरी दक्षिण अफ्रिकाले नयाँ लक्ष्य पाएको थियो । दक्षिण अफ्रिकाले १६.१ ओभरमा सात विकेट गुमाएर एक सय २४ रन बनाउँदै विजयलक्ष्य पार गर्‍यो । 

टी–२० विश्वकपमा दक्षिण अफ्रिकाको यो तेस्रो सेमिफाइनल यात्रा हो । 

दक्षिण अफ्रिकाको जितमा ट्रिस्टन स्टब्सले २९ रन बनाउँदा हेनरिच क्लासेनले २२ रन, क्विन्टन डिककले १२ रन बनाउँदा मार्को जनसेन २१ रनमा अविजित रहे । उनलाई कागिसो रबडाले ५ रनमा साथ दिए ।

वेस्ट इन्डिजका लागि रोस्टन चेजले ३ विकेट लिँदाआन्द्रे रसेल र अल्जारी जोसेफले २-२ विकेट लिएका थिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजका लागि रोस्टन चेजले ५२ रनको अर्धशतकीय इनिङ खेले । त्यस्तै, क्याली मयर्सले ३५ रन, आन्द्रे रसेल १५ रन, अल्जारी जोसेफ ११ रनमा अविजित रहेका थिए ।

यो खेलको नतिजासँगै समूह २ बाट सेमिफाइनल पुग्ने समिकरण पुरा भएको छ । दक्षिण अफ्रिका समूह विजेताका रूपमा सेमिफाइनलमा प्रवेश गर्दा इंग्ल्यान्ड उपविजेताका रूपमा अन्तिम चारमा रहने छ ।

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  ११:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update