प्रहरी नायब महानिरीक्षक (डिआइजी) पोखराज पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा सिफारिस भएका छन् ।
सोमबार गृहमन्त्रालयका सचिव एकनारायण अर्याल संयोजक रहेको बढुवा सिफारिस समितिले डीईआईजी पोखरेललाई एआईजी बढुवाका लागि सिफारिस गरेको हो ।
नेपाल प्रहरी प्रधान कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालय नक्सालमा दरबन्दी भएका उनी हाल काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा प्रमुख छन् ।
एआईजी बढुवा सिफारिस समितिमा गृहसचिव संयोजक हुन्छन् भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव सदस्य र प्रहरी महानिरीक्षक सदस्य सचिव रहने व्यवस्था छ । उक्त समितिले २१ असारबाट अवकाशमा जान लागेका डीआईजी पोखरेललाई एआईजी बढुवाका लागि सिफारिस गरेको हो ।
एआईजी उमेशराज जोशी असार १९ राति १२ बजेबाट अवकाशमा जाँदैछन् । ५६ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जान लागेका जोशीको ठाउँमा बढुवा गर्न पोखरेललाई बढुवा सिफारिस समितिले सोमबार सिफारिस गरेको हो ।
यद्यपि एआईजीको फुली लगाएको २ दिनमै पोखरेल पनि अनिवार्य अवकाशमा जानेछन् । पोखरेल पनि ५६ वर्षे उमेर हदका कारण जोशी अवकाशमा गएको २ दिनपछि असार २० गते राति १२ बजेबाट ५६ वर्षे उमेर हदकै कारण अनिवार्य अवकाशमा जानेछन् ।
प्रहरी नियमावली २०७१ को दफा १२७ अनुसार एआईजी र डीआईजी ५६ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जानेछन् । जसकारण पोखरेल एआईजीमा बढुवा नभएको खण्डमा पनि २० असारको राति १२ बजेबाट अनिवार्य अवकाशमा जाने थिए । तर १० दिन अघि नै बढुवा सिफारिस गर्दै विशिष्ट श्रेणीको एआईजी बनाउन लागिएको हो ।
यसअघि २०७९ जेठ मा पनि वसन्तकुमार लामालाई सरकारले २ दिने एआईजी बनाएको थियो । ७ जेठको राति १२ बजेबाट अनिवार्य अवकाशमा जान लागेका लामालाई ६ गते नै बढुवा गरेर एआईजीको दज्र्यानी चिन्ह प्रदान गरिएको थियो ।