NRN
सकियाे चलचित्र “यो मन त मेरो नेपाली हो” को सम्पूर्ण छायांकन

काठमाडौँ, ११ असार चलचित्र “यो मन त मेरो नेपाली हो” को सम्पूर्ण छायांकन सकिएको छ । आँखै रसिलो बोलको गीतको छायांकन सकिए लगतै चलचित्रको छायांकन सकिएको हो । भोइस अफ नेपालको स्टुडियो र बालाजु ल्याबमा आइताबारबाट छायांकन गरिएको गीतको आज बिहान छायांकन सकिए सँगै फिल्मको सम्पूर्ण छायांकन सकिएको हो ।

चलचित्रको आँखै रसिलो गीतमा दीपक शर्माको शब्द तथा संगीत रहेको छ भने अस्मिता अधिकारी र सबिन सुबेदीको स्वर रहेको छ । गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् । गीतमा चलचित्रका मुख्य कलाकार रोशन श्रेष्ठ र आयुषा समालसँगै मेरो डान्स युनिभर्सकी बिजेता खुशी कार्की, नारायण प्रधान, डि आइडीका टप टेन डान्सर नरेश वीर सिंहलाई फिचर्ड गरिएको छ ।

चलचित्रको केहि दिन अघि अमेरिकामा समेत छायांकन गरिएको थियो । “यो मन त मेरो नेपाली हो” नेपालको झापा, इलाम साथै भारतको सिकिम, दार्जीलिङ, जयगाउ पश्चिम् बङ्गाल लगायतको ठाउँमा चलचित्रको छायांकन गरिएको थियो । यस चलचित्रमा भारत, मलेसिया, पोल्याण्ड, अस्टिया, बेल्जियम, ट्युनिसिया, जर्मनी, साउथ अफ्रीका लगायतका देशका कलाकारहरुको अभिनय रहेको छ ।

अमेरीकामा रहेका साहित्यकार मित्र प्रधान (नर) को निर्देशन रहेको चलचित्र “यो मन त मेरो नेपाली हो” लाई ज्ञान बहादुर प्रधान (रोशन) ले निर्माण गरेका हुन् । चलचित्रमा रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, विजय बराल, आयुषा समाल, नारायण खाती, भुपेन्द्र लिङ्देन "मन्त्री", सुबास भन्डारी, बिजय सुब्बा, बिजिता बर्देवा, देवराज राजबन्शी लगायतको अभिनय रहेको छ । चलचित्रकी नायिका आयुषा समाल मेरो डान्स कप युएसए कि फर्स्ट रनर अप हुन् ।

पद्मा ईश्वर ईन्टरटेन्मेन्ट प्रा.लि.को प्रस्तुतीमा मित्र प्रधान (नर ) को प्रस्तुतिमा निर्माण भएको “यो मन त मेरो नेपाली हो” ले विदेशमा रहेका नेपालीको मुद्धालाई उठान गर्दैछ । चलचित्रले नेपाली भाषा, साहित्य, कला, यसको ईतिहास, महत्व र नेपाली भाषाको गौरवसँगै नेपाली को हुन् भन्ने विषयबस्तुलाई उठान गर्न खोजेको छ ।शिवम् अधिकारीको लेखनमा निर्माण भएको चलचित्रले विश्वका विभिन्न देशहरुमा बसोबास गर्दै आएका नेपालीहरुले आफ्नो कला, संस्कार, संस्कृति विर्सदै गएको हुदा चलचित्रको माध्यमबाट नेपाली भाषा प्रतिको आकर्षण, महत्व र ईतिहास दर्साउन खोजिएको छ ।

मित्र प्रधान (नर) को कथा तथा निर्देशन रहेको चलचित्र “यो मन त मेरो नेपाली हो” मा दिपक शर्माको संगीत , सौरभ लामाको छायांकन, देव महर्जन द्वन्द्व, समिर मियाको भिएफएक्स, कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  १५:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update