प्रतिनिधिसभा सदस्यहरूले बाढी पहिरो र चट्याङबाट मृत्यु भएका परिवार र घाइते भएकाहरूलाई राहत, उद्धार र क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेका छन् । बिहीबार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसदहरूले प्राकृतिक विपद्बाट प्रभावित भएकाहरूलाई ध्यान नदिएको भन्दै सरकारको ध्यानाकर्षण गरेका हुन् ।
नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले चट्याङको अर्लट नहुने गरेको भन्दै सरकारको ध्यानाकर्षण गरिन् । त्यस्तै नेकपा एमालेका सांसद मानवीर राईले असार ११ र १२ गते परेको अविरल बर्षाबाट सोलुखुम्बु जिल्ला पनि प्रभावित भएको भन्दै बाटो, पुल, व्यक्तिका घर पहिरोले क्षति पुर्याएको भन्दै ख्याल गर्न सरकारलाई आग्रह गरे । उनले प्रभावित परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न माग गरे ।
विराटनगर जलमग्न भएको भन्दै नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले तत्काल उद्धारका लागि आग्रह गरे ।
त्यस्तै, स्वतन्त्र सांसद अम्रेशकुमार सिंहले सर्लाहीमा विद्युत् प्राधिकरणको लापरबाहीले ३१ वर्षीय अविनाश मिश्रको मृत्यु भएको बताए । कांगेस सांसद रामहरि खतिवडाले प्राकृतिक विपद्बाट धेरै जनधनको क्षति भएको बताए । खानेपानी, विद्युत् लगायतमा असर परेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए ।
सांसद मनबहादुर गुरुङले कास्कीको पोखरामा पहिरोले घर पुर्दा र चट्याङ लागेर २ जनाको निधन हुनुका साथै ठाउँ ठाउँमा सडक अवरुद्ध भएको भन्दै राहत र उद्धारको काम गर्न सरकारको ध्यानाकर्षण जनाए । उनले पोखरा विमानस्थलसमेत प्रभावित भएकाले सरकारले त्यसतर्फ सरकारको ध्यानाकर्षण हुनुपर्ने बताए ।
त्यस्तै सांसद उर्मिला माझीले पनि देशभर भएको जनधनको क्षति भएको भन्दै लमजुङ पनि त्यसबाट अछुतो नरहेको बताइन् ।