गण्डकी प्रदेशका सांसद फणीन्द्र देवकोटालाई प्रदेश सभा प्रवेशमा रोक लगाइएको छ । सर्वोच्चको आदेशपछि बिहीबार बस्ने प्रदेश सभा बैठकमा प्रवेश गर्न लागेका फणीन्द्रले मर्यादा पालकले रोक लगाएका हुन् ।
ह्वीप उल्लंघन गरेको भन्दै माओवादी केन्द्रले देवकोटालाई सांसद पदबाट हटाएपछि देवकोटा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनको रिटउपर सर्वोच्चले सोमबार गण्डकी प्रदेश सभा सदस्यका रूपमा काम गर्न दिन अन्तरिम आदेश दिएको थियो ।
पार्टीको ह्वीप विपरीत मुख्यमन्त्रीलाई विश्वासको मत दिएको भन्दै फणीन्द्रमाथि जेठ ३२ गते माओवादी केन्द्रले कारबाही गरेको थियो ।
माओवादीको कारबाही गर्ने निर्णय ३२ जेठमा सभामुख कृष्णप्रसाद धितालले प्रदेशसभा बैठकमा पढेर सुनाएपछि देवकोटा पदमुक्त भएका थिए ।
माओवादी चुनाव चिह्नबाट विजयी देवकोटाले आफू नेपाल समाजवादी पार्टीको सांसद भएको र आफूलाई ह्वीप नलाग्ने भन्दै मुख्यमन्त्री पाण्डेको पक्षमा उभिएर बहुमत दिलाएका थिए । त्यसको भोलिपल्ट जेठ २९ गते देवकोटा ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री नियुक्त भएका थिए ।