काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह उपस्थित नभएपछि नगर सभा बैठक स्थगित भएको छ । पार्टीका जनप्रतिनिधिहरु र मेयरबीच विवाद भएपछि सूचना निकालेर बैठक स्थगित गरिएको हो ।
आज आगामी वर्षको २०८१/०८२ को नीति तथा कार्यक्रम पारित गर्ने र बजेट तथा कार्यक्रम सम्बन्धमा छलफल र पारित गर्ने कार्यसूची थियो । यस्तै, काठमाडौं महानगरपालिका आर्थिक विधेयक, विनियोजन विधेयक छलफल र पारित गर्ने कार्यसूची थियो ।
न्यायिक समितिको आर्थिक वर्ष २०८०/०८१ को प्रतिवेदन, लेखा समितिको आर्थिक वर्ष २०८०/०८१ को प्रतिवेदन छलफल गर्ने र पारित गर्ने कार्यसूची रहेको थियो।
शुक्रबार राष्ट्रिय सभा गृहमा बिहान ८ बजे बस्ने भनिएको बैठक मेयर बालेन उपस्थित नभएपछि सञ्चालन हुन नसकेको हो । बालेनले फेसबुकमा स्टाटस लेख्दै कांग्रेस-एमालेले बैठक रोकेको आरोप लगाएका छन् ।
महानगरपालिका मेयर बालेन्द्र शाहले आज नीति तथा कार्यक्रम र बजेटबारे छलफल गर्न नगरसभा बैठक बोलाएका थिए । गत सोमबारको नगरसभा बैठकमा चार दलका जनप्रतिनिधिले नीति तथा कार्यक्रममा साझा संशोधन हाले पनि त्यसलाई बालेनले स्वीकार गरेका थिएनन् । नीति तथा कार्यक्रम पारित नगरिकन बजेट प्रस्तुत गरिएको थियो ।