NRN
नेकपा एमालेका अध्यक्ष ओली : मदन भण्डारी र जीवराज आश्रितको हत्यारा पत्ता  लाग्छ

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी र जीवराज आश्रितको हत्यारा पत्ता लाग्ने बताएका छन् ।शुक्रबार राष्ट्रिय समाचार समितिलाई एक अन्तर्वार्ता दिँदै अध्यक्ष ओलीले सत्यहरुलाई शक्तिले लुकाए पनि समयक्रममा बाहिर आउने बताएका हुन् ।

‘कतिपय यस्ता घटना–दुर्घटनाका सत्यतथ्य सार्वजनिक हुन समय लाग्छ  । सत्यहरुलाई शक्तिले लुकाउँछन् नै तर त्यो प्रयत्न सधैँ सफल हुँदैन । समयक्रममा सत्य त बाहिर आइहाल्छ नै,’ ओलीले भने, ‘समय लाग्छ, दासढुङ्गा हत्याकाण्डको पनि सत्यतथ्य बाहिर आउँछ । मदन–आश्रितको हत्यारा पत्ता लाग्छ ।’

मदन–आश्रितको दासढुङ्गा दुर्घटनामा भएको मृत्युलाई एमालेले सुरुदेखि नै हत्या हो भन्दै आएको छ । एमाले पनि पटक-पटक सरकारको नेतृत्वमा पुग्यो तर त्यसको अनुसन्धान गरेर सत्यतथ्य बाहिर ल्याउन सकेन भनेर मानिसहरु प्रश्न गर्ने गर्छन् भन्ने प्रश्नमा जबाफ दिएका ओलीले भने, ‘जब सत्ता र शक्ति बाधक हुन्छ, कुनै कुनै सत्य प्रकट हुनबाट रोकिन्छ । नेपालमा दुई ठूला घटना मदन–आश्रितको हत्या र दरबार हत्याकाण्डका दोषी अझै पत्ता लागेका छैनन् । यसको रहस्य पनि खुल्छ कुनै दिन ।’

‘तत्कालीन सरकारले दुर्घटना हो भन्यो, छानबिन आयोगसमेत गठन गर्न मानेन । छानबिनको माग राखी आन्दोलन गर्ने क्रममा कम्तीमा २२ जनाको ज्यान नै गयो । हामीले तत्कालै छानबिन आयोगको माग गर्यौं । अहिले कस्ताकस्ता कुरामा पनि छानबिन आयोग या समिति गठन गर्ने गरिएको छ, यहाँहरुले पनि देख्नुभएकै छ तर त्यस्तो घटनामा छानबिनका लागि समिति गठन भएन,’ अध्यक्ष ओलीले दासढुङ्गा घटनामा गाडी नदीमा पुगेको र नेताहरु डुबे पनि चालक सकुसल बाँचेको अवस्था रहेको उनले बताए ।

२०५० साल जेठ ३ गते भएको दासढुङ्गा दुर्घटना आजसम्म पनि रहस्यकै गर्भमा छ । उक्त दुर्घटनामा एमालेका तत्कालीन महासचिव मदन भण्डरी र संगठन विभाग प्रमुख जीवराज आश्रितको मृत्यु भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  १३:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update