स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले औषधि तथा औषधि उद्योगको गुणस्तरका सम्बन्धमा अनुगमन गर्न समिति गठन गरेको छ ।
स्वास्थ्यमन्त्री प्रदीप यावदले मन्त्रिस्तरीय निर्णय गर्दै मन्त्रालयका अतिरिक्त सचिव डा. विकास देवकोटाको संयोजकत्वमा समिति गठन गरेका हुन् ।
समितिले औषधिको गुणस्तरको अनुगमन गर्नुका साथै औषधि उद्योग, फार्मेसी, औषधिसँग सम्बन्धित निकायको सञ्चालनको अवस्था, सेवा प्रवाह, क्षमता, सञ्चालन प्रक्रिया र मापदण्डको बारेमा अध्ययन गर्ने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।
औषधिको गुणस्तर, समस्या र चुनौतीलगायत विषयको पनि स्थलगत अध्ययन गरिने उनको भनाइ छ ।
समिति सदस्यहरुमा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल, राष्ट्रिय औषधि प्रयोगशालाका वरिष्ठ औषधि व्यवस्थापक सङ्गीता साह, नेपाल फार्मेसी काउन्सिलका प्रतिनिधि, सम्बन्धित जिल्लाका जिल्ला प्रशासन कार्यालयका अधिकृत प्रतिनिधि र सम्बन्धित क्षेत्रका औषधि व्यवस्था विभागका शाखा कार्यालयका प्रमुख रहनेछन् ।
समितिलाई १५ दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ । प्रतिवेदनका आधारमा मन्त्रालयले आवश्यक कदम चाल्ने तयारीसमेत गरेको छ ।