NRN
विविध कार्यक्रम सहित मनाइयो  भारतको ७४ औं गणतन्त्र दिवस

काठमाडौ ।  नेपालस्थित भारतीय दूतावासले भारतको ७४ औ गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरि भव्यताका साथ मनाएको छ । लैनचोरस्थित दूतावासमा विहीबार आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गर्दै राष्ट्रपति द्रौपदी मुुर्मुले राष्ट्रका नाममा गरेको सम्वोधन वाचन गरेका थिए । 

राष्ट्रका नाममा सम्वोधन गर्दै भारतकी राष्ट्रपति मुर्मुले विश्वव्यापी आर्थिक अनिश्चितताका बाबजुद गान्धीको सर्वोदय तथा सबैको उत्थानको आर्दशलाइ हासिल गर्न भारतले आर्थिक क्षेत्रमा गरेको प्रगति उत्साहजनक रहेको बताइन् । उनले जी २० मा भारतले पाएको अध्यक्षता सिंगो विश्व र भविष्यलाई अझ राम्रो बनाउन सुनौलो अवसर भएको स्पष्ट पारिन् । नेपालका उपराष्ट्रपति नन्दकिशोर पुनको प्रमुख आतिथ्यतमा स्वागत कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रममा सहभागीलाई राजदूत श्रीवास्तव लगायत दूतावासका अधिकारीहरुले स्वागत गरेका थिए । कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा, सरकारका मन्त्रीहरु, सचिवहरु, नेपालका संवैधानिक निकायका पदाधिकारीहरु,कुटनीतिक नियोगका प्रमुखहरु, विभिन्न राजनीतिक दलका नेता, उद्यमी व्यापारी , सामाजिक क्षेत्रका प्रवुद्ध व्यक्तित्वहरु तथा  उच्च पदस्थ व्यक्तिहरुको उल्लेख्य सहभागिता रहेको थियो । 

 सो अवसरमा दूतावासको स्वामी विवेकानन्द सांस्कृति केन्द्र र केन्द्रिय विद्यालय काठमाडौका विद्यार्थीले देशभक्ति गीतका साथै विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । 

४ करोड ६० लाख प्रदान 

सो कार्यक्रममा भारतीय राजदूत श्रीवास्तवले भारतीय सेनामा कार्यरत रहेर दिवंगत भएका नेपालीको सम्मानमा उनीहरुका परिवारलाई ४ करोड ६० लाख रुपैया नगद र कम्वल वितरण गरि सम्मान गरेका थिए । कार्यक्रममा विभिन्न शैक्षिक संस्था लगायत २३ संस्थालाई १६ लाख रुपैया बराबरको पुस्तक उपहारस्वरुप वितरण गरिएको थियो । 
 

प्रकाशित मिति: शनिबार, माघ १४, २०७९  १०:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update