NRN
युरोकप फुटबल प्रतियोगिताको १७ औँ संस्करणमा बुधबार अस्ट्रिया र टर्कीबिच भिड्दै

युरोकप फुटबल प्रतियोगिताको १७ औँ संस्करणमा क्वार्टरफाइनल प्रवेशका लागि बुधबार अस्ट्रिया र टर्कीबिच भिडन्त हुँदैछ । खेल नेपाली समयअनुसार बुधबार बिहान ००ः४५ बजे सुरु हुनेछ ।

यो खेलसँगै जारी युरोकपको क्वार्टरफाइनल समीकरण पनि पुरा हुनेछ ।

 

 

 

 

 

 

प्रारम्भिक चरणमा अस्ट्रिया आफ्नो समूहको विजेता बन्दै नकआउट चरणमा पुगेको हो । अस्ट्रिया समूह ‘डी’ मा परेको थियो । अस्ट्रियाले आफूले खेलेका तिनमध्ये दुई खेलमा जित र एक खेलमा हारको नतिजा निकालेको थियो । अस्ट्रियाले ६ गोल गरेको थियो भने चार गोल खाएको थियो । 

 

टर्की भने प्रारम्भिक चरणमा आफ्नो समूहको उप–विजेता बन्दै नकआउट चरणमा पुगेको हो । टर्की समूह ‘एफ’ मा परेको थियो । समूहगत चरणमा टर्कीले पनि तीनमध्ये दुई खेलमा एक खेलमा हारको नतिजा निकालेको थियो । टर्कीले पाँच गोल गरेको थियो भने पाँच गोल खाएको थियो ।

 

विश्व फुटबल महासंघद्वारा जारी पछिल्लो वरीयतामा अस्ट्रिया २५ औँ र टर्की ४२ औँ स्थानमा आसीन छन् । युरोकप फुटबलमा अस्ट्रियाको यो केवल चौथो सहभागिता हो ।

टर्कीको भने युरोकपमा यो छैटौँ सहभागिता हो ।

छनोट प्रतियोगितामा टर्की आफ्नो समूहको विजेता बनेको थियो । टर्कीले आफूले खेलेको आठमध्ये पाँच खेलमा जित, दुई खेलमा बराबरी र एक खेलमा हारको नतिजा निकालेको थियो । टर्कीले विपक्षीको पोस्टमा १४ गोल गरेको थियो भने सात गोल खाएको थियो ।

 

यसैगरी अस्ट्रिया भने छनोट चरणमा आफ्नो समूहको उप–विजेता बन्दै युरोकपमा सहभागी भएको हो । अस्ट्रियन टोलीले आठमध्ये ६ खेलमा जित, एक खेलमा बराबरी र एक खेलमा हारको नतिजा निकालेको थियो । अस्ट्रियाले १७ गोल गरेको थियो भने सात गोल खाएको थियो । 

 

जारी युरोकपमा अस्ट्रियाको टोली राल्फ राग्निककको प्रमुख प्रशिक्षकत्वमा रहेको छ । अस्ट्रियन टोलीमा ब्रोन्डबीका प्याट्रिक पेन्ज (गोलरक्षक), इन्टर मिलानका मार्को अर्नाउतोभिच (कप्तान), बोलोग्नाका स्टेफन पोच, एससी फ्रिबर्गका फिलिप लिनहर्ट, फेयनुर्डका गेर्नट ट्राउनर, उल्फ्सबर्गका प्याट्रिक विमर लगायतका खेलाडी छन् । 

यसैगरी जारी युरोकपमा टर्कीको प्रमुख प्रशिक्षक हुन्, भिनसेन्जो मोन्टेल्ला । टर्कीको वर्तमान टोलीमा बेसिकटसका मर्ट गुनोक (गोलरक्षक), इन्टर मिलानका हकान काल्हानोग्लु (कप्तान), रोमाका जेकी सेलिक, अल–आहलीका मेरिह डेमिरल, रियल मड्रिडका आर्डा गुलेर, युभेन्ट्सका केनन एल्डिज लगायतका खेलाडी छन् ।

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update