NRN
प्रधानमन्त्रीलाई राजीनामा दिन कांग्रेसको आग्रह

नेपाली कांग्रेसको कार्यसम्पादन समितिले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पदबाट राजिनामा दिन आग्रह गरेको छ ।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बुधबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले संसदका २ प्रमुख दल मिलेर सरकार बनाउने निर्णय गरिसकेकाले प्रधानमन्त्रीले पदबाट राजिनामा दिनु पर्ने निर्णय गरेको जनाएको छ ।

बैठकपछि प्रमुख सचेतक रमेश लेखकले अहिलेको यथार्थ राजनीतिक परिस्थितिको ठिक मूल्यांकन गर्दै मार्गप्रशस्त गर्न प्रधानमन्त्रीलाई आग्रह गरिएको जानकारी दिए ।

‘अहिलेको यथार्थ राजनीतिक परिस्थितिको ठिक मूल्यांकन गर्दै मार्गप्रशस्त गरिदिन हामीले आज प्रधानमन्त्रीलाई आग्रह गरिएको छ,’ उनले भने, ‘एमालेले पनि प्रधानमन्त्रीलाई अनुरोध गरिसकेको छ । प्रधानमन्त्रीले मार्गप्रशस्त गरेमा तुरून्त नयाँ सरकार बन्छ । तर संविधानअनुसार उहाँले विश्वास मत लिन खोजे एक महिना समय त पाउनु हुन्छ ।’

प्रधानमन्त्री दाहालले परिस्थितिलाई ठिक ढंगले बुझ्ने भएकोले मार्गप्रशस्त हुने विश्वास उनको छ ।

काँग्रेस र एमालेले प्रचण्डलाई हटाएर नयाँ सरकार बनाउने समझदारी असार १७ गते गरेका थिए । त्यतिबेलै काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आलोपालो सरकारको नेतृत्व गर्ने समझदारी भएको अनौपचारिक रूपमा सार्वजनिक भएको थियो ।

प्रकाशित मिति: बुधबार, असार १९, २०८१  १२:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update