NRN
राजीनामा नदिई फर्किए बालुवाटार पुगेर रास्वपाका मन्त्रीहरू

पदबाट राजीनामा दिन बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरू त्यसै फर्केका छन्।

श्रम मन्त्री बनेका डोलप्रसाद अर्याल (डिपी), सांसद स्वर्णिम वाग्ले र प्रमुख सचेतक सन्तोष परियारलगायत प्रधानमन्त्रीलाई भेट्न बिहीबार बिहान बालुवाटार पुगेका थिए । उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' सँग छलफल पनि गरेका छन् ।

राजीनामा बोकेर बालुवाटार पुगेका रास्वपाका मन्त्रीहरुले  प्रधानमन्त्रीसँगको छलफल पछि राजीनामा नदिई फर्किएका हुन् । 

प्रधानमन्त्री दाहालले आफूले विश्वास मत लिने तयारी गरेको बताएका छन् । रास्वपाले प्रधानमन्त्री दाहाललाई संसदबाट छिटो विश्वास मत लिन आग्रह गर्दै त्यो बेलासम्म आफूहरूले साथ दिने बताएका छन् । 

यसअघि बुधबार साँझ प्रधानमन्त्रीलाई भेटेर नेकपा (एमाले) का मन्त्रीहरूले सामूहिक रूपमा राजीनामा दिएका थिए । साथै एमालेले प्रधानमन्त्री दाहाललाई दिएको समर्थन पनि फिर्ता लिएको छ । दाहाल नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

असार १७ गते नेपाली कांग्रेस र एमालेबीच नयाँ समीकरण बनाउने सहमति भएको थियो । उक्त सहमतिअनुसार एमाले अध्यक्ष केपी शर्मा ओली अब प्रधानमन्त्री हुनेछन् ।

कांग्रेस र एमालेले प्रधानमन्त्री दाहाललाई मार्गप्रशस्त गर्न आग्रह गर्दै आएका छन् भने प्रधानमन्त्री दाहालको दल नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्रीले संसदबाट विश्वास मत लिने बताइरहेको छ ।

प्रधानमन्त्री दाहालले अबको एक महिनाभित्र संसदबाट विश्वास मत लिनुपर्छ ।

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १२:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update