NRN
रास्वपा महामन्त्रीबारे अनुशासन समितिले बुझायो प्रतिवेदन

राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन समितिले महामन्त्री डा. मुकुल ढकालमाथि कारबाहीका विषयमा आफ्नो प्रतिवेदन पार्टीलाई बुझाएको छ । हिजो बसेको सचिवालय बैठकमा अनुशासन समितिका संयोजक डा. भरत देवकोटाले प्रतिवेदन बुझाएका हुन् ।

गत मंगलबार बसेको रास्वपा केन्द्रीय समिति वैठकले अनुशासन उल्लंघनको आरोपमा महामन्त्री डा. ढकाललाई ७ दिनका लागि निलम्बन गर्ने निर्णय लिएको थियो । त्यसअघि नै अनुशासन समितिले उनलाई ७ दिनको म्याद दिएर स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरणको म्याद समाप्त भइसकेको छ भने निलम्बनको म्याद भोलि समाप्त हुँदैछ ।

महामन्त्री ढकालले अनुशासन समितिलाई स्पष्टीकरण बुझाएनन् । उनले केन्द्रीय समिति बैठकमै एउटा प्रस्ताव पेश गरेका थिए, जसमा आफूमाथि सोधिएको स्पष्टीकरणको सन्दर्भ पनि उल्लेख थियो । तर, पार्टीले उक्त प्रस्तावलाई छलफलमै लगेन । पछि महामन्त्री ढकालले त्यही प्रस्ताव पार्टी कार्यालयमा दर्ता गराएका छन् र अनुशासन समितिलाई बोधार्थ पठाएका छन् । समितिले यसलाई स्पष्टीकरणको जवाफका रूपमा स्वीकार गरेको छ ।

रास्वपा विधानअनुसार अनुशासन समितिले गर्ने कारबाही सिफारिसलाई केन्द्रीय समितिले अनुमोदन गर्नुपर्छ । जस्ताको तस्तै अनुमोदन गर्ने वा त्यसलाई तोडमोड गर्न सक्ने अधिकार केन्द्रीय समितिलाई हुन्छ । समितिले के प्रतिवेदन बुझायो भन्ने खुल्न सकेको छैन ।

प्रकाशित मिति: सोमबार, असार २४, २०८१  १२:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update