NRN
हामीले ल्याएको संविधानको रक्षा आफैँ गर्छौं, कुनै अर्ति उपदेश आवश्यक छैन : रमेश लेखक

नेपाली कांग्रेसका सांसद रमेश लेखकले अहिलेको संविधानको रक्षा गरिने बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले शुक्रबारको प्रतिनिधि सभा बैठकमा राखेको विश्वासको मतको प्रस्तावमाथि छलफलमा भाग लिएका लेखकले संविधान रक्षाका सन्दर्भमा कांग्रेसलाई कुनै अर्ती र उपदेश आवश्यक नपर्ने पनि बताए ।

‘यो लोकतान्त्रिक संविधानलाई कमजोर गर्ने कुरामा कांग्रेसका माथि आक्षेप गर्ने, कल्पना र अनुमानका भरमा विभिन्न खालका भास्य निर्माण गर्ने काम बन्द गरिनुपर्छ,’ उनले भने, ‘यो संविधान हामीले ल्याएको हो, यो संविधानको रक्षा हामीले गर्छौं ।’

यसअघि बोलेका प्रधानमन्त्री दाहालले अहिलेको संविधानले दिएका अधिकार कांग्रेस र एमाले मिलेर खोस्न लागेको आरोप लगाएका थिए। त्यसप्रति लक्षित गर्दै लेखकले संविधान रक्षा गर्दै जाने र यसका लागि कुनै अर्ती र उपदेश आवश्यक नपर्ने जबाफ दिए ।

संविधान संशोधनको विषय उठाउनु, छलफल गर्नु, समीक्षा गर्नु पश्चगमन नभएको पनि उनले बताए । ‘यो अग्रगमन हो,’ उनले भने, ‘संविधानलाई चलायमान बनाउन निरन्तर समीक्षाको आवश्यकता छ ।’

उनले कांग्रेस र एमाले मिल्नेबित्तिकै तर्सनु र आत्तिनुपर्ने अवस्था नरहने पनि बताए । राजनीतिक स्थिरता दिन कांग्रेस र एमाले मिलेर सरकार बनाउन लागेको उनको भनाइ छ ।

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  १५:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update