चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालको पहिरोसँगै त्रिशूलीमा खसेका दुई यात्रुवाहक बस खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपालका ९० जनाको सुरक्षा फौज परिचालन गरिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ११ जना गोताखोरसहित ४५ जनाको टोलीले सोनार क्यामरा प्रयोग गरी घटनास्थलदेखि नारायणी नदीसम्म खोजी कार्यलाई निरन्तरता दिएको छ ।
सशस्त्रको नं. १७ गण चितवनबाट ११ जना विपद् व्यवस्थापन तालिम प्राप्तसहित ४५ जनाको सुरक्षा फौजले घटनास्थलदेखि ४० किलोमिटर तल गोलाघाटसम्म र्याफ्टिङ बोट र नदी किनारामा पैदलगस्ती गर्दै खोजीकार्यको लागि परिचालन भइसकेको छ । खोजी कार्यमा नेपाली सेना र नेपाल प्रहरी समेत परिचालित रहेका छन् ।
अविरल वर्षाको कारण नदीमा आएको भेल र धमिलो पानी गर्दा सोनार क्यामरा र अन्य डिभाइसहरूको प्रयोग गर्दा समेत बेपत्ताहरूको खोजी कार्य गर्न असहज भएको बताइएको छ । यी डिभाइसहरूले सफा पानी तथा ताल र पाेखरीमा जमेको पानीमा खोजी कार्यको लागि प्रयोग गरिन्छ ।
असार २९ गते बेपत्ता भएको बस तथा यात्रुहरूको खोजीको लागि खटिएको सुरक्षा फौजले ३ वटा शव फेला पारेको थियो ।
वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको डिलक्स र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको बस भरतपुर महानगरपपालिका–२९ सिमलताल असार २८ गते बिहान त्रिशूली नदीमा खसेको थियो ।