NRN
अर्जेन्टिनालाई कीर्तिमानी १६ औँ उपाधि

अर्जेन्टिनाले ४८ औँ संस्करणको कोपा अमेरिका जितेको छ । सोमबार बिहान सम्पन्न फाइनल खेलमा कोलम्बियालाई १-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले उपाधि जितेको हो ।

कोपाको उपाधि जित्न अर्जेन्टिलाई अतिरिक्त समय आवश्यक परेको थियो । निर्धारित समयको खेलमा गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा प्रवेश गरेको थियो ।

योसँगै अर्जेन्टिनाले कीर्तिमानी १६ औँ पटक कोपा अमेरिकाको उपाधि जितेको छ । यसअघि अर्जेन्टिनाले उरुग्वेसँगै १५–१५ पटक कोपा–अमेरिकाको उपाधि जितेको थियो ।

निर्धारित ९० मिनेटको समयमा खेलमा दुबै टोलीबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।
११२ औँ मिनेटमा लाउटारो मार्टिनेजले निर्णायक गोल गर्दै अर्जेन्टिनालाई जित दिलाए । जियोभानी लो सेल्सोले उनलाई गोलको अवसर सिर्जना गरेका थिए ।

अर्जेन्टिनी टोलीले सन् १९२१ मा पहिलो पटक कोपा–अमेरिकाको उपाधि जितेको थियो । अन्तिम पटक भने अर्जेन्टिना सन् २०२१ मा च्याम्पियन बनेको थियो । यसका अतिरिक्त अर्जेन्टिना १४ पटक उप–विजेता पनि बनेको छ ।

सोमबारको खेलमा अर्जेन्टाइन स्टार लियोनल मेस्सी घाइते हुँदै मैदान छाडेका थिए ।

अर्का अर्जेन्टाइन स्टार डी मारियाले अन्तर्राष्ट्रिय खेललाई सुखद् रुपमा टुंग्याएका छन् । उनी यसअघि नै कोपा आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल भएको घोषणा गरेका थिए ।

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  ११:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update