NRN
आज साउने अर्थात कर्कट सङ्क्रान्ति, लुतो फाल्ने दिन

आज साउने सङ्क्रान्ति, देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदै छ । 

सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रूपमा मनाउने प्राचीन परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ ।

विक्रम सम्वत्को क्यालेन्डर अनुसार साउनको १ गतेलाई साउने सङ्क्रान्ति अर्थात् कर्कट सङ्क्रान्ति भनिन्छ । यस वर्षको साउने सङ्क्रान्ति आषाढ शुक्ल दशमी मङ्गलबार (जुलाई १६ तारिख) परेको छ । यस दिनलाई हामीकहाँ साउने सङ्क्रान्ति, लुतो फाल्ने दिन भनेर पनि जानिन्छ । 

परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नास्पाती आदि औषधिका रूपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फाल्दै लुतो लैजा भन्ने गरिन्छ । लुतो फाल्दा आ–आफ्नो कुल परम्पराअनुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन छ । 

यस्तै, साउन महिनालाई विशेषरुपमा भगवान् शिवको पूजा गरेर मनाइन्छ । महिलाले हरियो चुरालगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको पनि देखाउने गरिएको छ । साउन महिनाभर देशभरका शिवालय विशेष गरी पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष भीड लाग्छ । 

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  ११:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update