NRN
इजरायली सेनाद्वारा गाजाको अर्को विद्यालयमा  हवाई आक्रमण, २२ जनाको मृत्यु

मध्य गाजामा रहेको संयुक्त राष्ट्रसंघद्वारा सञ्चालित विद्यालयमा इजरायली सेनाले गरेको आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको छ भने एक सय जना घाइते पनि भएका छन् ।

हमासको स्वास्थ्य मन्त्रालयले यस विद्यालयमा विस्थापित मानिसहरू बस्दै आएको बताएको छ । इजरायली सेनाले नुसरत शरणार्थी शिविरमा रहेको अबु ओराबेन विद्यालयमा हमास लडाकुहरूले आफ्नो गतिविधि सञ्चालन गरिरहेको बताएको छ ।

यद्यपि प्रत्यक्षदर्शीहरूले बिबिसीलाई शिविरमा सशस्त्र लडाकुहरू नभइ बालबालिकासमेत रहेको बताएका छन् ।

पछिल्लो आठ दिनमा विद्यालय र वरपरको यो पाँचौँ आक्रमण हो । गाजाको स्वास्थ्य मन्त्रालयले मानवीय क्षेत्रको रूपमा तोकिएको गाजाको क्षेत्रमा इजरायली हवाई आक्रमणमा कम्तीमा १ सय ४१ प्यालेस्टाइनीको मृत्यु भएको जनाएको छ ।

हमासले एक विज्ञप्ति जारी गर्दै खान युनिस नजिकै अल मसावी क्षेत्रमा भएको आक्रमणमा अहिलेसम्म ४०० जना घाइते भएको जनाएको छ ।

सेनाले मानवीय क्षेत्रको रूपमा चिन्ह लगाएको क्षेत्रमा इजरायली हवाई आक्रमण भएको थियो र प्यालेस्टिनीहरूलाई त्यहाँ शरण लिन भनिएको थियो ।

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  १२:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update