NRN
सिमलताल दुर्घटना : घटनाको अध्ययन गर्न गठित कार्यदलको टोली चितवनमा

नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका २९ सिमलतालमा गत असार २८ गते बिहान आएको पहिरोमा परेर २ वटा बससहित यात्रुहरुलाई बगाएको घटनाको अध्ययन गर्न गठित कार्यदलको टोली चितवन पुगेको छ ।

घटनास्थलको अवलोकन, चितवनका प्रहरी प्रशासन तथा सरकोरवालासँग छलफल गरि उद्धार प्रकृयाबारे जानकारी लिन अध्ययन टोली चितवन पुगेका हुन् । गृह मन्त्रालयका सहसचिव छवि रिजालको नेतृत्वमा ६ सदस्यीय टोली आज बिहान साढे ८ बजे चितवन पुगेका हुन् ।

गृह मन्त्रालयका सहसचिव रिजालको संयोजकत्वमा गठित कार्यदलमा नेपाल प्रहरीका एसएसपी भूपेन्द्र खत्री, सशस्त्र प्रहरीका एएसएसपी, विपद् प्राधिकरणका उपसचिव, यातायात व्यवसायी महासंघका प्रतिनिधि र भौतिक पूर्वाधार मन्त्रालयका प्रतिनिधि सदस्य छन् ।

गत शुक्रबार असार २८ गते बिहान काठमाडौंबाट रौतहटको गौरतर्फ जान आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको यात्रुबाहक बस र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस सिमलताल भन्ने स्थानको पहिरोमा परेर एक साथ त्रिशूली नदीमा खसेका थिए ।

गत शुक्रबार सीमलतालमा गुडिरहेको दुईवटा बस लेदोसहितको पहिरोले त्रिशूलीमा बगाउँदा ६५ जना बेपत्ता भएका थिए । बेपत्तामध्ये १७ जनाको शव नारायणी किनारको विभिन्न क्षेत्रमा भेटिएका छन् । भेटिएका शव मध्य ९ जनाको मात्रै दुर्घटनाका यात्रु रहेको पहिचान खुलेको छ ।

प्रकाशित मिति: बुधबार, साउन २, २०८१  ११:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update