NRN
लुम्बिनी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री आचार्यसहित एमाले–कांग्रेसका ९ मन्त्रीले लिए शपथ

लुम्बिनी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यसहित एमाले–कांग्रेसका ८ बिनाविभागीय मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले उनीहरुलाई शपथ गराएका हुन् ।

१२ मन्त्रालय रहेको लुम्बिनीमा एमालेले मुख्यमन्त्रीसहित ५ र कांग्रेसले ५ मन्त्रालय लिएका हुन् । तर कांग्रेसमा विवाद भएपछि अन्तिममा जन्मजय तिमिलसिनाको नाम काटिएको छ ।

एमालेबाट रुपन्देहीका भूमिश्वर ढकाल, गुल्मीका दिनेश पन्थी, पाल्पाका खेम सारु र दाङका सीता शर्मा मन्त्री बनेका हुन् । यसपटक मन्त्री दोहोरिनेमा ढकाल र पन्थी छन् । ढकाल यसअघि जोखबहादुर महराको नेतृत्वको सरकारमा सहरी बिकास मन्त्री पन्थी आन्तरिक मामिला मन्त्री थिए ।

यसैगरी नेपाली कांग्रेसबाट गुल्मीका धनेन्द्र कार्की, प्यूठानका रोज राणा, दाङका प्रचण्डविक्रम न्यौपाने, बाँकेका बादशाह कुर्मी मन्त्री बनेका हुन् ।

आज बिनाविभागीय रुपमा शपथ लिएका सबै मन्त्रीलाई बिहीबारसम्म मन्त्रालयको जिम्मेवारी दिने जनाइएको छ । 

लुम्बिनीमा एमाले कांग्रेसका ५६ सांसदको हस्ताक्षरपछि एमाले र कांग्रेसको समर्थनमा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य सोमबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए । आचार्य एमाले संसदीय दलको उपनेता हुन् ।

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  १२:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update