NRN
कोशी सरकार छाड्दै माओवादी केन्द्र,  ४ मन्त्रीले राजीनामा दिने

नेकपा माओवादी केन्द्रले आज कोशी प्रदेश सरकार छाड्ने भएको छ । केन्द्रीय सत्ता गठबन्धन फेरिएसँगै कोशी प्रदेशबाट पनि माओवादीले बाहिरिने तयारी गरेको हो । माओवादीले सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिने तयारी गरेको छ ।

केन्द्रीय सत्तासमीकरण फेरिए पनि माओवादी केन्द्रले नेकपा एमाले नेतृत्वको कोशी प्रदेश सरकार छाडेको थिएन । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले हटाउने संकेत पाएपछि माओवादी केन्द्रका मन्त्रीहरुले आज राजीनामा बुझाउँदैछन् ।

कोशी प्रदेश सरकारमा नेकपा माओवादी केन्द्रबाट गणेश उप्रेती भौतिक पूर्वाधार विकास मन्त्रीमा, राजेन्द्र कार्की स्वास्थ्य मन्त्री, नारायण बुर्जा मगर पर्यटन बन तथा वातावरण मन्त्री रहेका छन् । यस्तै वन्दना झाँगड पर्यटन बन तथा वातावरण राज्यमन्त्री छन् । 

माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारबाट फिर्ता भएपछि समर्थन पनि फिर्ता लिने बताए ।

नौं वटा मन्त्रालय रहेको कोशीमा कांग्रेसलाई ४ वटा मन्त्रालय दिने मुख्यमन्त्री कार्कीको तयारी छ । भागबण्डाका लागि आजै कांग्रेस र एमालेका नेताहरुको बैठक बस्दैछ ।

संविधानको धारा १६८(५) अन्तरगत एमाले र माओवादीका १३ जना प्रदेश सभा सदस्यको समर्थनमा हिक्मत कुमार कार्की वैशाख २७ वैशाख २०८१ मा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  १२:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update