काठमाडौं उपत्यका वरपरका डाँडाहरूमा हाइकिङ गर्न गएका व्यक्तिहरूमाथि लुटपाट गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका-७ घर भई कलंकी बस्दै आएका ५६ वर्षीय रामबहादुर लामा छन् ।
प्रहरी प्रभाग कलंकीका प्रमुख प्रहरी नायब निरीक्षक एम बहादुर थापाको नेतृत्वको टोलीले दुई थान खुकुरी र गरगहनासहित एक जनालाई पक्राउ गरेको हो । दहचोकको कालुपाँडे विन्दावासिनी क्षेत्रमा खुकुरी देखाई लुटपाट गरेको अवस्थामा शनिबार उनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । उनीसहित तीन जनाको समूह आए पनि बाँकी २ जना भने फरार भएका थिए ।
पक्राउ परेका लामाको साथवाट दुई थना खुकरी, सुनको बेरुवा औठी, सिक्री, रिङ, ब्रासलेटलगायतका गरी करिब ११ लाख बराबरको गरगहना बरामद भएका छन् । साथै १३ हजार ४ सय नगद पनि बरामद भएको छ ।
यो समूहले नागार्जुन र चम्पादेवी क्षेत्रमा हाइकिङ गर्न गएकाहरुमाथि लुटपाट गरेको आरोप छ ।