NRN
उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरको पर्वत खण्ड पहिरोले अवरुद्ध

उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको पर्वत खण्ड पहिरोले अवरुद्ध बनेको छ । पर्वतको कुश्मा नगरपालिका–५ स्थित बडागाउँ–कैया झोलुङ्गे पुल नजिकै खसेको सुक्खा पहिरोले सडक अवरुद्ध बनेको हो ।

सोमबार बिहान खसेको सुक्खा पहिरोले झण्डै ५० मिटर सडक पुरिएको छ । 

निर्माणाधीन अवस्थामा रहेको उक्त सडक विष्फोटक पदार्थ प्रयोग गर्नुपर्ने भएपछि रोकिएको ठाउँबाटै पहिरो खसेको हो । पहरो खसेपछि पर्वत खण्डको अर्मादी–मोदीवेणी खण्डको यातायात सेवा अवरुद्ध बनेको छ ।

उक्त सडक हुँदै चल्ने सवारीसाधन मोदीवेणीबाट कुश्माबजार हुुँदै जानुपर्ने अवस्था आएको मोदीवेणी संरक्षण समितिका अध्यक्ष केशवदास बैरागीले जानकारी दिए । भिरको ठूलो भूभागबाट खसेको पहिरोले कालीगण्डकी नदीको बहावलाई कुनै असर नगरेको उनले जानकारी दिए ।

कालीगण्डकी करिडोरअन्तर्गत फलेवास–अर्मादी खण्डमा रहेका यो सडक विगत सात वर्षदेखि अलपत्र अवस्थामा छ । गत वर्ष ट्रयाक खुलेर सवारीसाधन वारपार हुन थाले पनि सडक स्तरोन्नतिको काम भने पूरा हुनसकेको थिएन । 

पहिरोका कारण बडागाउँ–कैया झोलुङ्गे पुल जोखिममा परेको छ ।   

प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  ११:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update