अघिल्लो काराेबार दिन अर्थात मंगलबार भएको उच्च अंकको करेक्सनपछि, बुधबार नेप्से पुनः उच्च अंकले बढेको छ । मंगलबार नेप्से सूचक १४५ अंकले घटेर करेक्सनमा गएको सेयरबजार आज १०८ अंकको वृद्धिसहित हरियो बनेको छ ।
लामो समय बढेको बजारले मंगलबार करेक्सन लिँदा राताम्मे बनेको बजार बुधबार पुन बढेको हो । बुधबार नेप्से परिसूचक १०८.३५ अंक बढेर २७५९.६७ विन्दुमा पुगेको छ ।
मंगलबार हालसम्मकै उच्च २३ अर्ब ७१ करोड रूपैयाँको कारोबार भएको थियो । बुधबार १७ अर्ब ९५ करोड रूपैयाँको कारोबार भएको छ ।
यो रकम अघिल्लो दिनको तुलनामा कारोबार रकममा ५ अर्ब ७६ करोड रूपैयाँ कमी आएको हो ।
बुधबार फाइनान्स, जलविद्युत्, होटल व्यापार तथा अन्य समूहमा रहेका कम्पनीको मूल्यमा उछाल देखिएको हो ।
बोटलर्स नेपाल (बालाजु), गुडविल फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, नेपाल रिइन्स्योरेन्स, मैलुङ खोला जलविद्युत्, डोल्टी पावर कम्पनी, सिटी होटल र हिमालयन रि इन्स्योरेन्स कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको वृद्धिसहित सर्किट लागेको हो ।
कारोबारमा भने आज हिमालयन रिइन्स्योरेन्स अगाडि छ ।