NRN
अन्तरिम सरकार प्रमुख बनेका मोहम्मद युनुसले आज शपथ लिने

बंगलादेशमा शेख हसिनाको बहिर्गमनपछि अन्तरिम सरकार प्रमुख बनेका मोहम्मद युनुसले आज शपथ लिने भएका छन् ।

विद्यार्थीहरूको आन्दोलन सरकारको नियन्त्रणबाहिर पुगेपछि हसिनाले प्रधानमन्त्रीबाट राजीनामा गर्दै देश छाडेलगत्तै नोबल पुरस्कार विजेता युनुस मंगलबार त्यहाँको अन्तरिम सरकार प्रमुख नियुक्त भएका थिए ।

अन्तरिम सरकार प्रमुख नियुक्त हुँदा उनी फ्रान्सको पेरिसमा थिए । उपचारको सिलसिलामा फ्रान्सको राजधानी पेरिसमा युनुस दुबई हुँदै दिउँसो २:१० बजे ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् ।

त्यसपछि  राष्ट्रपति मोहम्मद शाहबुद्दिनसँग बैठक बस्नेछन् । बैठकपछि बेलुका ८ बजे उनले शपथ लिनेछन् । उनले १५ सदस्यीय सल्लाहकार परिषद् गठन गर्ने सम्भावना रहेको मिडिया रिपोर्टहरुमा उल्लेख छ ।

शेख हसिनाले प्रधानमन्त्रीबाट राजीनामा दिएर देश छाडेपछि मंगलबार राष्ट्रपति मुहम्मद शाहबुद्दिन, सेना प्रमुख र आन्दोलनरत विद्यार्थी प्रतिनिधिबीच अन्तरिम सरकार गठनबारे छलफल भएको थियो।

छलफलपछि नोबल शान्ति पुरस्कार विजेता ८४ वर्षीय मुहम्मद युनुसलाई अन्तरिम सरकार प्रमुख बनाउने निर्णय भएको थियो।

युनुसलाई अन्तरिम सरकार प्रमुख बनाउन विद्यार्थीहरूले नै माग गरेका थिए । अन्तरिम सरकार प्रमुख बनाउने भएपछि विदेशमा रहेका उनी बंगलादेश फर्कन लागेका हुन् । 

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  ११:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update