भारतका विदेश सचिव विक्रम मिस्री नेपाल आइपुगेका छन् । परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा मिस्री नेपालको दुई दिने औपचारिक भ्रमणमा आएका हुन् । लम्सालले भारत भ्रमणमा गएको बेला भारतीय सचिव मिस्रीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएकी थिइन् ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सचिव लम्सालले स्वागत गरेकी थिइन् ।
भ्रमणको क्रममा उनले नेपालका राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री आरजु राणा देउवालगायत शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताइको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार दुवै देशका परराष्ट्रसचिवबीच नेपाल–भारत सम्बन्ध र पारस्परिक हितका विविध विषयका साथै आपसी सहयोगलाई विस्तार गर्ने सम्बन्धमा छलफल हुने छ । साथै भारतका विदेश सचिवले नेपाल सरकारका विशिष्ट व्यक्तिहरूसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।
विनयमोहन क्वात्राले अवकाश पाएपछि गत जुलाई १५ मा मिस्री विदेश सचिव बनेका थिए ।