आन्तरिक राजश्व विभागका पूर्व महानिर्देशक चूडामणि शर्मा ढकालको बन्दी प्रत्यक्षीकरणको निवेदन न्यायाधीश विनोद शर्माको इजलासमा पेशी तोकिएको छ ।
भ्रष्टाचार मुद्दामा दोषी ठहर भएर आफैँ आत्मसमर्पण गरेका चूडामणिको बन्दी प्रत्यक्षीकरणको निवेदन न्यायाधीश विनोद शर्माको इजलासमा पेशी तोकिएको हो ।
चूडामणिले विशेष अदालत समेत ४ लाई विपक्षी बनाउँदै साउन २५ गते मुद्दा दायर गरेका थिए । विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेका चूडामणिले आफू बिरामी रहेको दाबीसहित बन्दी प्रत्यक्षीकरण निवेदन लिएर सर्वोच्च पुगेका हुन् ।
उनले साथै पुनरावेदन पनि गरेका छन् । विशेषको फैसला त्रुटिपूर्ण रहेको उनको दाबी छ ।
विशेष अदालतले चूडामणिलाई कर फर्छ्यौट आयोगमा रहँदा राज्यको सम्पत्ति दुरुपयोग गरी कर छुट दिएको भन्दै ९ वर्ष कैद र ४ अर्ब १० करोड ४६ लाख ९७ हजार ८९८ रुपैयाँको जरिवाना सुनाएको थियो । विशेषले २०८० असारमा उनलाई उक्त सजाय सुनाएको थियो ।
शर्मासँगै कर फर्छ्यौट आयोग, २०७१ का पदाधिकारीहरू अध्यक्ष लुम्बध्वज महत, सदस्य उमेशप्रसाद ढकाल पनि दोषी ठहर भएका थिए । अख्तियारले उनीहरूसँग १ अर्ब ३३ लाख २० हजार ३८५ रुपैयाँ बराबर भ्रष्टाचार गरेको दाबी गरेको थियो ।