NRN
तास खेलिरहेको अवस्थामा शनिबार काठमाडौंबाट कोशी प्रदेशका मन्त्री र कलाकारसहित ११ जनालाई पक्राउ

तास खेलिरहेको अवस्थामा प्रहरीले शनिबार काठमाडौंबाट कोशी प्रदेशका मन्त्री र कलाकारसहित ११ जनालाई पक्राउ गरेको छ । गौरीघाटबाट ११ जनालाई प्रहरीले जुवा खेल्दै गरेको अवस्थामा पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरुमा एमालेका नेता तथा कोशी प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारी, एमालेकै कोशी प्रदेश कमिटी सचिवालय सदस्य महेश किराती, एमालेका सोलुखुम्बु जिल्ला कमिटी सदस्य तथा सोताङ गाउँपालिकाका पूवअध्यक्ष बीरबहादुर राई, उत्तमकुमार राई, अनिश तामाङ, दीपक खड्का, भीमबहादुर साम्बाहाङ्फे, रवि श्रेष्ठ र राजु महत, पुरुषोत्तम शर्मा छन् । शर्मा टेलिसिरियल ‘सक्किगो निँ’ का कलाकार हुन् ।

काभ्रेको बनेपा नगरपालिका-१२ का ४१ वर्षीय राजु महतको गौरीघाटस्थित कोठामा उनीहरू जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेको प्रहरीले जनाएको छ ।

जुवाखालबाट करिब एक लाख ५० हजार रूपैयाँ नगद र १६ बुक तास बरामद गरेको छ । गौशाला प्रहरी वृत्तले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  १६:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update