- राजन घिमिरे , सिड्नी
अष्ट्रेलियाको सिड्नीबाट बेपत्ता भएका नेपाली युवा सुभाष बोलाखेको खोजीका लागि काभ्रेको पाँचखाल नगर प्रमुख महेश खरेलले सक्रियतासंगै नेपालस्थित अष्ट्रेलियन राजदूतावासमा पुगेर राजदूत फेलिसिटी भोल्कलाई निवेदन बुझाइएको छ । गत जुलाई २७ तारिखका दिन अन्तिम पटक बेक्स्ली क्षेत्रमा देखिएका उनलाई प्रहरीले खोजी गरिरहेको छ । परिवारका सदस्यसहित नगर प्रमुखको टोलीले राजदूत वोल्कलाई भेटेर तदारुकताका साथ बोलाखेको खोजी गरिदिन आग्रह गरेको थियो ।
आग्रहसंगै राजदूतज्यूले सकारात्मक प्रतिक्रिया दिनु भएको र नेपालबाट अष्ट्रेलियन सरकार समक्ष पहल गर्दै तुरुन्तै पत्र पठाउँछौं भन्नु भएको जानकारी मेयर खरेलले दिएका छन । यसैबीच न्यूसाउथवेल्स प्रहरीले उनको खोजी भइरहेको जनाएको छ । सुभाषको परिबारले पनि अष्ट्रेलियामा रहेको नेपाली समूदायलाई खोजीदिन अनुरोध गरेका छन् ।
सिड्नीस्थित प्रहरी निकायले आफ्नो वेबसाइटमा सुभाष हराएको बारे निजको हुलियासहित जानकारी गराउँदै देख्ने–भेट्नेले खबर गर्न आग्रहसमेत गरेको थियो । १० महिनाअघि अध्ययनका लागि अष्ट्रेलिया पुगेका सुभाष निरन्तर परिवारकै सम्पर्कमा थिए । उनीसँगै बस्दै आएका एक जना साथी विवाहका लागि नेपाल गएको समयमा घटना भएका कारण उनी कसैलाई केही नभनी सम्पर्क बाहिर छन् ।
काभ्रेको पाँचखाल नगरपालिका–७ का बोलखे २० दिनदेखि परिवारसँग सम्पर्कविहीन भएपछि नगर प्रमुख खरेलले खोजीका लागि राजदूत भोल्कसँग अनुरोध गरेका हुन् ।