नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज (आइतबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ । लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।
यसअघि गत साउन २९ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको छ । शुक्रबारको तुलनामा आइतबार सुनको भाउ प्रतितोला तीन हजार रूपैयाँ बढेको हो । शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार छ सय रूपैयाँमा कारोबार भएको थियो ।
आइतबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ ।
यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय १० रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५० रूपैयाँ बढेको हो । शुक्रबार चाँदी प्रतितोला एक हजार सात सय ६० रूपैयाँमा कारोबार भएको थियो ।