NRN
कैलालीमा परिरहेको भीषण वर्षाका कारण अहिलेसम्म ५ सयभन्दा बढी घर डुबानमा

कैलालीमा परिरहेको भीषण वर्षाका कारण अहिलेसम्म ५ सयभन्दा बढी घर डुबानमा परेका छन् भने १ हजार ७ सय भन्दा बढी नागरिकको जनजीवन प्रभावित भएका छन् । भजनी, जोशीपुर, जानकी, घोडाघोडी कैलारी, गौरीगङ्गामाका अधिकांश क्षेत्र जलमग्न भएका छन् ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीका अनुसार अहिलेसम्म कैलालीमा ५ सयभन्दा बढी घर डुबानमा परेका छन् भने १ हजार ७ सय भन्दा बढी नागरिक प्रभावित भएका छन् ।

भजनीमा ४ सयभन्दा बढी घर र हसुलिया गौरीगंगा सुखडमा डुबानमा परेको उनले जानकारी दिए ।

कैलारीका केही परिवार वडा कार्यालयमा बसेका छन् । कैलारी ५ वयनपुरमा घरमा पानी पसेपछि निस्कने क्रममा ४२ वर्षीया लोकमाया चौधरीलाई बाढीले बगाएको थियो । उनको उद्धारपछि धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ । अहिले स्थानीय पालिका, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा उद्धार कार्य समेत जारी छ ।

अहिले पनि कैलालीमा वर्षा भइरहेको छ भने साना ठुला नदीमा पानीको वहाब बढिरहेको छ । स्थानीय प्रशासनले सूचना जारी गरेर बाढीको जोखिम क्षेत्रमा रहेका स्थानीयहरूलाई सुरक्षित ठाउँमा जान आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभागले पनि होचो भू–भाग र तटीय क्षेत्रमा सतर्कता अपनाउन भनेको छ ।

 

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  ११:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update