NRN
धनुषामा जेल तोडेर भागेका एक जना पक्राउ

जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा रहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरको थुनुवा कक्षबाट भागेका ६ थुनुवा मध्ये एक जना पक्राउ परेका छन् ।  पाँच जनाको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।
हातहतियार तथा खरखजाना मुद्दाका आरोपित २८ वर्षीय रोशन महतो सोमबार  पक्राउ परिसकेका छन् । प्रहरीले उनलाई फरार भएको १२ घण्टापछि पक्राउ गरेको छ । आइतबार राति महतोसहित थुनुवा कक्ष फोडेर ६ जना विभिन्न मुद्दाका आरोपि फरार भएका थिए । 

धनुषा मिथिला नगरपालिका ५ का महतो यही माघ १२ गते नक्टाझिजबाट हतियार (पेस्तोल)सहित पक्राउ परेका थिए । उनी चार दिन थुनामा बसेका थिए । उनलाई प्रहरीले हतियार खरिद–बिक्री गर्ने गरेको आरोपमा पक्राउ गरेको थियो । यही मुद्दामा फरार भएका उनका साथी शंकर महतो भने अझै फरार छ । सुरुमा शंकर रोशनकै बयानपछि पक्राउ परेका थिए । महतोद्वयलाई प्रहरीले गत शनिबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका थिए । त्यसको भोलिपल्ट आइतबार उनीहरुलाई पाँच दिन म्याद थपी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेका थिए ।

यसैगरी अभद्र व्यवहार मुद्दामा यही माघ १० गते पक्राउ परेका मिथिला नगरपालिका २ का २५ वर्षीय हरिदीप सिंह पनि फरार छन् । उनमाथि सात दिन म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेका थिए । हरिदीप पाँच दिन उक्त थुनामा बसेर उनीहरुसँग फरार भएका छन् । लागू औषध मुद्दामा पुस २८ गते पक्राउ परेका क्षीरेश्वरनाथ नगरपालिका ५ का ३० वर्षीय विनोद कुमार शर्मा पनि फरार छन् । उनी १८ दिनदेखि थुनामा बसेका थिए । दुई पटक उनको म्याद थप भएको थियो । तर प्रहरीको अनुसन्धान पूरा नभएको हुनाले उनलाई थुनामै राखिएको थियो ।

 


 

प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९  १०:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update