NRN
नयाँ कमला पुल निर्माण गरिने सहमतिपछि तोडियो आमरण अनसन

नयाँ कमला पुल निर्माण गर्नमा मधेश सरकार सहमत भएपछि चार दिनदेखि आमरण अनशन बसेका अनसनकारीहरू आज अनसन तोडेका छन् ।

हुलाकी राजमार्ग अन्तर्गत सिरहा र धनुषालाई जोड्ने कमला नदीमा नयाँ कमला पुल निर्माण संघर्ष समिति र मधेश प्रदेश सरकारबीच वार्ताबाट चार बुँदे सहमति भएपछि समितिले आफ्नो आन्दोलन स्थगन गरेको छ । 

सहमति पश्चात् मुख्यमन्त्री सतिश कुमार सिंह अनशनस्थलमै पुगेर अनशनकारीहरूलाई जुस खुवाए । अनशनकारीले अनशन तोडेको घोषणा गरेका छन् ।

समितिका प्रतिनिधि र मधेश प्रदेश सरकारका बीचमा भएको वार्तामा नयाँ कमला पुलको निर्माण कार्य तत्काल सुरु गरिने सहमति भएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेटमा संघ सरकारमार्फत आवश्यक बजेटको व्यवस्था गर्ने प्रयास गर्ने र संघ सरकारबाट बजेट उपलब्ध नगरिएमा, सम्पूर्ण खर्च मधेश प्रदेश सरकारकै श्रोतबाट व्यवस्था गरिने सहमति भएको छ ।

यसबाहेक, पुल निर्माणका लागि आवश्यक डिटेल प्रोजेक्ट रिपोर्ट (डीपीआर) तयार पार्न २०८१ मंसिर १ भित्र बोलपत्र आह्वान गरिने सहमति भएको छ । यो संगै नयाँ कमला पुल निर्माण संघर्ष समिति सिरहा–धनुषाको संघर्षका सम्पूर्ण कार्यक्रम आजकै मितिबाट स्थगित गरिने पनि सहमतिपत्रमा उल्लेख छ ।

सहमति पत्रमा मुख्यमन्त्री सतिशकुमार सिंह र संघर्ष समितिका संयोजक इन्जिनियर प्रविण यादवले हस्ताक्षर गरेका छन् ।

गत भदौ ४ गतेदेखि संघर्ष समितिका संयोजक इन्जिनियर यादवको नेतृत्वमा १० जना आमरण अनशन बसेका थिए ।

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  १२:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update