- राजन घिमिरे, सिड्नी
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पूर्व उप प्रधानमन्त्री राजेन्द्र लिंगदेनले आफ्नो पार्टी सधै प्रत्यक्ष निर्बाचित कार्यकारी प्रधानमन्त्रीको पक्षमा रहेको र यसको लागि सधैं आबाज उठाई रहने बताएका छन । केही दिनका लागि लिगंदेन, "प्रबासी नेपाली एकता समाज,अस्ट्रेलिया र ओसीनिया परिवारद्वारा आयोजित ५ औं वार्षिकोत्सव तथा अन्तरक्रिया कार्यक्रममा सहभागि हुन अष्ट्रेलिया आएका हुन । लिंगदेनले सिड्नीको ग्रयानभिलमा रहेको फ्लेभर्स अफ नेपालमा आयोजित पत्रकार सम्मेलनमा नेपालको राजनैतिक प्रणाली फेर्नु पर्ने सुझाब तर्फ जोड दिए । उनले अगाडि भने -‘ प्रबासमा हाम्रो पार्टीप्रतिको धारणा कस्तो छ ? हामीबाट प्रबासमा रहनु भएका नेपालीहरूले कस्तो अपेक्षा राख्नु भएको छ ।
यसबारे धारणा बुझ्न पनि हामी बिभिन्न देशहरूमा पुगिरहेका छौं -‘ । अध्यक्ष लिंगदेनले पत्रकारहरूको प्रश्नको जबाफ दिंदै प्रदेश संरचना हटाउनु पर्ने र देशको बजेट भन्दा बढी ऋण देशले बोक्नु परेको तर्फ चिन्ता ब्यक्त गरे । उनले अगाडि भने -‘ उर्जा, जलस्रोत र पर्यटन क्षेत्रको बिकास गरेर यूबाहरूलाई स्वदेशमै रोजगारी दिन सकिने छ । तर देशका मूल राजनैतिक दलहरु सत्ता लिप्सामा तल्लिन भएका कारण यूबाहरूको बारेमा सोच्ने फूर्सदै छैन । यो कुरामा हामी दुखी छौं -‘ ।
न्यायाधीश र अख़्तियार प्रमुखमा पनि दलिय भागबण्डा हुन थालेपछी देशमा न्याय मरेको दाबी गर्दै अध्यक्ष लिगंदेनले पोखराको क्षेत्रीय एअरपोर्ट निर्माणको क्रममा थुप्रै अनियमितता भएको तर्फ इंगित गर्दै अगाडि भने -‘ ठूलो धन राशीको अपचलन भएको देखिएको छ । छानबिन हुंदै छ । चांडै सही कुरा आउंने नै छ -‘ । आफ्नो पार्टी सधैं एक पटकको नेपाली सधैंको नेपाली भन्ने अब धारणामा अडिग भएको तर्फ जोड दिंदै अध्यक्ष लिंगदेनले अगाडि भने -‘ नेपाल सरकारले यो पुस्तालाई मात्र होइन कि आगामी पुस्तालाई पनि सहज हुने गरेर कानुन बनाउंनु पर्छ भन्ने होम्रो जोड हो । यस तर्फ सधै आबाज उठाई रहने छौं -‘