NRN
रामेछापमा पहिरो मृत्यु हुनेको संख्या ६ पुग्यो, ४ जना बेपत्ता

रामेछापको शैलुङ्ग गाउँपालिका ३ लेखर्क पहरीगाउँमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ । गए राति वर्षासँगै आएको पहिरोमा परेर बेपत्ता भएकामध्ये ६ जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पहिरोमा परी मृत्यु हुनेमा ३० वर्षीया चण्डिका श्रेष्ठ र उनका १८ महिने छोरा आमुस श्रेष्ठ, ५७ वर्षीया उर्मीला पहरी, ३० वर्षीय सञ्जिव पहरी, ११ वर्षीय सन्तोष पहरी र १४ वर्षका विज्ञान पहरीको रहेका छन् । श्रेष्ठकी ११ वर्षीया छोरी अञ्जना घाइते छिन् ।

स्थानीयका अनुसार अझै चार जना हराइरहेका छन् । उनीहरूको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले खोजी गरिरहेको छ ।

७५ वर्षीय फडके पहरी,५५ वर्षीय काले पहरी, ५४ वर्षीया झ्याउकिरी पहरी र २३ वर्षीया विन्दा पहरी सम्पर्कविहीन छन् । 

प्रहरीका अनुसार आज बिहान ३ः३५ बजे पहिरोले गाउँमा क्षति पुर्‍याएको सूचना जिल्ला प्रहरी कार्यालयमा प्राप्त भएको थियो । पहिरोले ५ वटा घर बगाएको छ । 

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  ११:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update