NRN
मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी रास्वपाले गर्याे कारबाही

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संस्थापक महामन्त्री मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ । मंगलबार बिहान बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले ढकाललाई साधारण सदस्य समेत नरहने गरी हटाएको हो ।

ढकाललाई पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा दुईपटकसम्म स्पष्टीकरण सोधिएको थियो । ढकालले पार्टी सुदृढीकरणका लागि भन्दै बनाएको प्रतिवेदनमा पार्टी अनुशासन विपरीतका कुराहरू समेटेको, पार्टीका अहित हुने खालका गतिविधि गरेको लगायतका आरोपमा पार्टीले उनलाई यसअघि महामन्त्रीबाट निलम्बन गरेको थियो । निलम्बन गरी उनलाई स्पष्टिकरण सोधिएको थियो ।

ढकालले गरेको समीक्षा यात्राको प्रतिवेदनको स्वामित्व पनि पार्टीले लिएको थिएन । प्रतिवेदन पार्टीमा पेस गरेर छलफल चलाउनु पहिल्यै सार्वजनिक गरेको भन्दै उक्त प्रतिवेदनको स्वामित्व नलिने निर्णय रास्वपाले गरेको थियो ।

ढकालले सभापति रवि लामिछानेलाई समीक्षा यात्रापछि तयार पारेको प्रतिवेदन बुझाएका थिए । जसमा पार्टी सञ्चालन र सभापतिको कार्यशैलीप्रति कडा आलोचनासमेत गरिएको थियो ।

आफ्ना कुरा भन्न नदिएको भन्दै ढकालले पार्टीको बैठकमै कालो टेप लगाएर विरोध गरेका थिए । प्रतिवेदनमा लेखिएका कुरा पार्टी नीतिविपरीत सार्वजनिक गरेको लगायतको आरोपमा ढकाललाई केन्द्रीय समितिले महामन्त्री पदबाट निलम्बन गरिएको थियो ।

प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  १३:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update